काठमाडौं, बैशाख २१ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्बिने भएको छ। मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलले थप एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न मोडालिटी परिर्वन गर्दै निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा बैशाख २२ गते राति १२ बजे सकिँदै छ। यस्तै यो समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने पराजुलीले बताए।
उनले वैशाख २३ गतेदेखि पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने र बेलुका पूर्ण रुपमा बन्द गरिने बताए। त्यस्तै नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाई गरिने पराजुलीले जानकारी दिए।
पराजुलीका अनुसार बैंक तथा वित्तिय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइनेछ। सरकारी कार्यालय, मन्त्रालय र विभागमा ४० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गरिने उनले बताए। त्यस्तै निषेधाज्ञालाई पूर्ण रुपमा कार्यान्वयन गराउन अनुगमनको कामलाई तीव्रता दिने बैठकले निर्णय गरेको छ।


























