चितवन, बैशाख २० । जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा एक हजार ७० सक्रिय सङ्क्रमित पुगेका छन्।
कार्यालयका अनुसार सक्रिय सङ्क्रमितमध्ये ८८ जना अस्पतालको आइसोलेसनमा र ९८२ होम आइसोलेसनमा रहेका छन्। यहाँ रहेका सङ्क्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन्। महानगरमा ८९०, खैरहनी नगरपालिकामा ३२, माडीमा १६, रत्ननगरमा ८७, राप्तीमा २४ र कालिका नगरपालिकामा १२ सक्रिय सङ्क्रमित रहेका छन्। यस्तै एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा नौ सक्रिय सङ्क्रमित रहेको जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए।
जिल्लामा अहिलेसम्म आठ हजार ४६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। तीमध्ये ११७ को मृत्यु भइसकेको छ भने छ हजार ८५९ जना निको भएर घर फर्किइसकेका छन्। सङ्क्रमितमध्ये तीन हजार ३७० महिला र चार हजार ६७१ पुरुष रहेको उनले जानकारी दिए। रासस


























