काठमाडौं, चैत्र २० । नेकपा एमालेको माधव नेपाल समूहको बैठकले पार्टीका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथि गरिएको कारबाहीको भर्त्सना गरेको छ। उक्त कारबाहीले नेपालको कम्युनिष्ट आन्दोलन नै लज्जित बनेको नेता भीम रावलले बताए।
बैठकको बीचमा बाहिर निस्केर पत्रकारसँग छोटो कुरा गर्दै रावलले भने, ‘हामी सबैले कारबाहीको निन्दा गरेका छौं। यो तानाशाही, निरंकुश र स्वैच्छाचारी छ। कथित कारबाहीले पार्टीको सिद्धान्त, नीति र विधान मिचिएको छ। नेपालको कम्युनिष्ट आन्दोलन लज्जित भएको छ।’
रावलले नेकपा एमालेको रक्षा र गतिशीलताका लागि पाइला चाल्ने विषयमा छलफल भइरहेको बताए। उनले महाधिवेसन आयोजक समिति गठन गरेर अध्यक्ष ओलीले आफैंलाई अवैध बनाएको दावी गरे।
Facebook Comments
























