काठमाडौं, चैत्र ९ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसहित ४ जना शीर्ष नेताहरुलाई स्पष्टीकरणको पत्र काटिएको छ। एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालका नाममा स्पष्टीकरण सोधिएको पत्र काटेका हुन्।
चारै नेताका घरमा स्पष्टीकरण सोधिएको पत्र बुझाइएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए। एमाले अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले नेपाल, रावल, पाण्डे र भुसालका नाममा स्पष्टीकरण सोध्ने निणर्य गरेको थियो। महासचिव पोखरेलले सोधेको स्पष्टीकरणको जवाफ ३ दिनभित्र दिन भनिएको छ।
नेकपा नाम विवादमा सर्वोच्च अदालतले फागुन २३ गते सुनाएको फैसला पछि ब्यूँतिएको नेकपा एमालेमा आन्तरिक विवाद विभाजनको अवस्थामा पुगेको छ। सर्वोच्चको फैसलापछि फागुन २८ गते अध्यक्ष ओली पक्षले केन्द्रीय समिति बैठकबाट कार्यविभाजन, विधान संशोधन र महाधिवेशन मिति तय गरेपछि एमालेको विवाद संगठनात्मक संरचना नै छिन्नभिन्न हुने अवस्थामा पुगेको हो।
नवौं महाधिवेशनबाट निर्वाचित एमालेको वैधानिक कमिटी कमजोर हुँदा गुट बलिया भएका छन्। एमालेमा ओली र खनाल(नेपाल समूह एक(अर्काको विरोध र बहिष्कारका बीच समानान्तर गतिविधिमा सक्रिय छन्।
फागुन २८ को बैठकमा ओलीले आफू (अध्यक्ष) र महासचिव पद बाहेक सबै पदाधिकारीहरु खारेज गर्ने, माओवादीबाट आफूलाई साथ दिएका २३ जनालाई केन्द्रय समितिमा मनोनयन गर्ने, तथा आगामी मंसिरको २ गतेदेखि ६ गतेसम्म दशौं महाधिवेशन गर्ने निणर्य गराएका थिए। वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षले भने उक्त निणर्य फिर्ता हुनुपर्ने अडान राख्दै आएको छ।
ओलीले फागुन २८ गते एकलौटी रुपमा बैठक गरी विभिन्न निर्णय गरेपछि नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले चैत ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो।
कार्यकर्ता भेलामार्फत नेपाल–खनाल पक्षले देशव्यापी रुपमा नै अध्यक्ष ओलीविरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गरेको थियो। राष्ट्रिय कार्यकर्ता भेला रोक्नुपर्ने भन्दै आएका ओलीले भेला नरोके पछि स्पष्टीकरण सोध्ने निर्णय गराएका हुन्।


























