झापा, चैत्र ८ । ४० वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका इलामको माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना काँकडभिट्टा आइपुगेका छन्।
कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन् र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार उनलाई दमदम कारागारले रिहा गरिदिएको थियो।
उनी काँकडभिट्टामा आज बिहान सवा ९ बजे आइपुगेका हुन्। कोलकाताबाट हिजो स्थलमार्ग हुँदै कार चढेर काँकडभिट्टा आउँदा विश्व सेवा विस्तार नामक उद्धार संस्था, सञ्चारकर्मी र आफन्तहरुले उनलाई फूलमाला र खादा लगाएर स्वागत गरेका थिए।
काँकडभिट्टामा आजै आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो देश आउन पाएकामा खुशी व्यक्त गर्दै आफु निर्दोष अवस्थामा जेलमा यातनापूर्वक थुनिएको बताए। उनले आफ्नी आमालाई भेट्न आतुर भएको बताए।
कोलकाताबाट भाइ प्रकाशचन्द्र तिम्सिना, विश्व सेवा विस्तार नामक उद्धार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत र पत्रकारहरु पर्वत पोर्तेल र चिरञ्जीवी घिमिरेले उनलाई लिएर आएका हुन्। लामो अवधि जेलमा शारीरिक र मानसिक यातना पाएका कारण उनको स्वास्थ्य अवस्था नाजुक देखिएको छ। उनी कम बोल्छन् र एकोहोरिन्छन्।
अदालतले मानसिक स्वास्थ्यको कारण जनाउँदै रिहाइको आदेश दिँदा ६र६ महिनामा उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन भनेको उनका भाइ प्रकाशचन्द्रले बताए। उनको मुद्दाको अन्तिम फैसला नभइसकेको प्रकाशचन्द्रले जानकारी दिए।
बुवा चम्पाखर र आमा धनमाया तिम्सिनाको जेठो छोरा दुर्गाप्रसादले माइला भाइ केदार, कान्छा भाइ धर्मानन्द र बहिनी पवित्राको नाम लिए। हाल बुवा र माइला भाइको निधन भइसकेको छ भने घरमा आमा, कान्छो भाइ र बहिनी उनलाई व्यग्रतापूर्वक पर्खिरहेका छन्।
भाइ प्रकाशचन्द्रका अनुसार दुर्गाप्रसादको बोलाउने नाम दीपक हो। १९ वर्षको उमेरमा तोरी बेच्न पश्चिम इलामको मङ्गलबारे बजार जाने निहुँले दुर्गाप्रसाद रोजगारीको खोजीमा भारतको दार्जिलिङ पुगेका थिए।
दार्जिलिङमा उसबेला गोर्खाल्याण्ड प्राप्तिका लागि हिंसात्मक आन्दोलन चलिरहेको अवस्था थियो। खोज्न जाने परिस्थिति थिएन र उताबाट पनि दुर्गाप्रसादको कुनै खबर आउन सकेन। “कतैबाट खबर नआएपछि दाजु आन्दोलनमै मारिनुभयो होला भन्ने घरपरिवारमा लागेको थियो”, भाइ प्रकाशचन्द्रले भने, “४० वर्षपछि बङ्गाल रेडियो क्लबका माध्यमले उहाँ जेलमा जीवितै रहेको खबर आयो।”
हुन त विसं २०६९ मा दीपक जैशी नामबाट घरमा एउटा चिठ्ठी आएको थियो। जेलमा बस्दा उनले आफ्नो नाम दीपक र थर जैशी भनेको हुँदा चिठ्ठी त्यसरी पठाइएको रहेछ। तर यता घरमा भने बेपत्ता रहेका दुर्गाप्रसादको बारेमा कसैले मजाक गरेर चिठ्ठी पठाएको हो कि भन्ने लाग्यो। चिठ्ठीको सत्यता जाँच्न परिवारका सदस्यहरु भारत जान सकिरहेका थिएनन्।
दमदम कारागारमा सँगै बसेका पश्चिम बङ्गालकै मेदनीपुर जिल्लाका दाधेश्याम दास नाम कैदीले दुर्गाप्रसादको अवस्था र पहिचानबारे पहिलोपल्ट जेल बाहिर खबर ल्याएका थिए। दासले बङ्गाल रेडियो क्लबमा नेपालका दुर्गाप्रसाद नामका कैदी चार दशकदेखि बिना सुनुवाइ बसिरहेको खबर पुर्याएपछि मिडियामा समाचार छापिन थालेका हुन्। उनलाई अहिले जेल बाहिर ल्याउन रेडियो क्लबको भूमिका महत्वपूर्ण रहेको प्रकाशचन्द्रले बताए।
दार्जिलिङमा जुन घरमा दुर्गाप्रसाद आश्रय लिएर बसेका थिए, त्यही घरकी पत्नीको चियाबारीमा विभत्स हत्या भएपछि त्यसको दोष उनीमाथि थोपरिएको थियो। तर उनीमाथि लगाइएको आरोप झुठो भएको बताइएको छ। प्रहरीमा झुठो आरोप दर्ता भएपछि कथित पीडितका तर्फबाट एकपल्ट पनि मुद्दा फ्लोअप नभएको र बिना सुनुवाइ सजाय सुनाउँदै दुर्गाप्रसादलाई कारागार सार्दै दमदममा पुर्याइएको पाइएको छ।
हराएका मानिसको खोजीमा सघाउने संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतले बङ्गाल रेडियो क्लबसँगको सम्पर्कपछि इलाममा दुर्गाप्रसादका भाइ प्रकाशचन्द्रसँग सम्पर्क गरेका थिए। घरमा दुर्गाप्रसादका आमा धनमाया वृद्धास्थामा छिन्। उनी सात वर्षकै हुँदा बुवा चम्पाखरको निधन भएको थियो। दुर्घटनामा परी आमा धनमायाको एउटा हात काटेर फाल्नुपरेको थियो।
रातभरि अनिँदो अवस्थामा गाडी चढेर काँकडभिट्टा आइपुगेका दुर्गाप्रसादले पत्रकारसँग हाँसो साट्ने र थोरै बोल्न मात्र सके। उनले सेतो कमिज र खरानी कलरको ट्राउजर लगाएका थिए। उनका भाइ प्रकाशचन्द्रले इलामबाट थप आफन्तहरु काँकडभिट्टा आइपुगेपछि पहिलो मिलन गराएर आजै घर पुर्याइने बताए। रासस

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








