काठमाडौं, चैत्र ५ । नेकपा एमालेको संस्थापन पक्षको गुटगत भेला गर्ने र त्यस्ता भेलामा जाने सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र पार्टी निर्णय नमान्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको सांसद महेश बस्नेतले जानकारी दिए।
‘बालुवाटारमा सम्पन्न एमाले संसदीय दलको बैठकले सांसदहरुलाई गुटगत भेलामा नजान सचेत गराउने र अटेर गर्नेलाई विधानअनुसार कारबाही गर्ने निर्णय गरेको छ।’ सांसद बस्नतेले भने, ‘पार्टीको निर्देशनबाहेक अन्य निर्देशन नमान्न सांसदहरूलाई सचेत गराउने निर्णय भएको छ।’
उनले एमाले संसदीय दलको बोर्ड गठन भएको पनि जानकारी दिएका छन्। बोर्डमा २७ जना सदस्य रहने पनि उनले बताए। त्यस्तै एमाले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गर्ने भएको छ।
बिहीबारको बैठकमा झलनाथ खनाल–माधवकुमार नेपाल समूहका केही सांसद पनि सहभागी भएको बताइएको छ। खनाल–नेपाल समूहले बुधबारदेखि आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदै छ।


























