काठमाडौं, चैत्र ५ । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा संसदीय दलको बैठक सुरु भएको छ। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु भने सहभागी छैनन्।
उनीहरूले छुट्टै राष्ट्रिय भेला गरिरहेका छन्। सानेपामा माधव नेपाल–झलनाथ खनाल समूहको कार्यकर्ता भेला बुधबारदेखि जारी छ। भेला आज सकिनेछ।नेपाल पक्षका सांसदहरुको सानेपास्थित हेरिटेज गार्डेनमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी हुने वा नहुने भन्ने दुई थरी धारणा व्यक्त भएका थिए।
स्थायी कमिटी सदस्य योगेश भट्टराईलगायत केहीले प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी हुनुपर्ने तर्क राखे। सोही अनुसार एमाले स्थायी कमिटीमा रहेका भन्दा बाहेकका सांसदहरु तथा समिति सभापतिहरु जाने सहमति भयो।
सोही अनुसार, गणेश पहाडी, उदया शर्मा पौडेल, कृष्णभक्त पोखरेल, दीपकप्रकाश भट्ट, कृष्णलाल महर्जन लगायतका केही सांसदहरु बालुवाटार जान निस्किएका थिए। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजेका लागि बोलाइएको थियो।
बालुवाटारमा जाने विषयमा मतमतान्तर चलिरहेकै थियो। कतिपय सांसद्ले बैठकमा नेतृत्वको मात्रै होइन, अन्य सांसद्को पनि अडान हुने र त्यसको पनि अर्थ हुने भएकाले बालुवाटारको बैठकमा सहभागी हुन नहुने तर्क राखिरहेका थिए।
त्यसपछि भीम रावलले बालुवाटार जान नहुने विषयमा अडान राखेका थिए। उनी कडा रुपमा प्रस्तुत भएपछि अगाडिको निर्णय उल्टिएको एक सांसदले बताए। त्यसपछि बालुवाटार जान सानेपाबाट निस्किएका सांसद्हरुलाई फर्काइएको थियो। संसदीय दलको बैठकले उपस्थित नहुने सांसदलाई कारबाही गर्ने तयारी ओली पक्षको छ।


























