काठमाडौं, चैत्र २ । संस्थापन पक्षले गरेको आग्रहलाई अस्वीकार गर्दै नेकपा एमालेको माधव नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ। नेकपा एमालेको असन्तुष्ट माधव–झलनाथ पक्षले चैत ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा भएको छलफलपछि केन्द्रीय सदस्य र सांसदहरूलाई जानकारी दिन नयाँ बानेश्वरस्थित अर्याल होटलमा भएको छलफलले भेला नरोक्ने निर्णय गरेको हो।
भेलामा सहभागी सांसद डा.दीपकप्रकाश भट्टले चैत ४ र ५ गते बोलाएको भेला अहिले नरोक्ने निर्णय भएको जानकारी दिए। साथै आज बिहान अध्यक्ष एवम् प्रधानमन्त्रीसँग भएको छलफलका बारे पनि ब्रिफिङ भएको उनले बताए।
यो समूहले सहमतिका लागि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग भने वार्ता जारी राख्ने भएको छ। उनका अनुसार पार्टीभित्र देखिएको विवाद समाधानका लागि अध्यक्षसँग वार्ता पनि गर्दै जाने निष्कर्ष निकालिएको छ। सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् रुपमै फर्किएका छन्।
यही बीचमा अध्यक्ष ओलीले २८ फागुन विशेष बैठक भन्दै निर्वाचित पदाधिकारी खारेज गरी २३ जना केन्द्रीय सदस्य थप गरेपछि एमालेभित्र विवाद चुलिएको छ। माधव–झलनाथ पक्षले फागुन २८ को निर्णय रद्द गर्नुपर्ने माग राखेको छ। तर, अध्यक्ष ओली त्यसमा सकारात्मक देखिएका छैनन्।


























