काठमाडौं, फागुन १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले उपत्यका बाहिरका सांसदहरुदलाई तत्कालै काठमाडौं आउन तथा काठमाडौँमा भएका सांसदहरुदलाई जानकारीबिना उपत्यका बाहिर नजान निर्देशन दिएको छ।
बैठकमा सहभागी नेतृ रामकुमारी झाक्रीले भनिन्, ‘संसदीय दलको बैठकले उपत्यका बाहिर रहेका सांसदहरुलाई तत्काल बोलाउने र काठमाडौँ उपत्यकामा भएका सांसदलाई जानकारी बिना बाहिर जान नदिने निर्णय भएको छ।’
दाहाल-नेपाल समूहको संसदीय दलको बैठकले १३ दिनभित्रै संसद बैठक बस्नुपर्ने भएकाले यस्तो निर्देशन दिएको उनले बताइन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र अन्य दलहरुसंग सहकार्य गरेर जाने बारेमा पनि छलफल उनको भनाइ छ।
बैठकले प्रतिनिधिसभा विघटनको विरुद्दमा आन्दोलनका क्रममा साथ दिने सबै पक्षलाई र सर्वोच्च अदालतले गरेको फैसला प्रति धन्यवाद ज्ञापन गरेको नेकपा प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए।
संसदीय दलको बैठकमा नेकपाको दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी थिए। यसअघि आजै बसेको दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकले संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो।


























