चितवन, फागुन ११ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्ने बताएकाछन्। प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट पारे।
“न्यायालयले जे फैसला गर्छ त्यसलाई हामी मान्दैनौँ भनेर कसले भन्छ र ”, उनले भने “न्यायपालिकाले गर्ने फैसलाप्रति विमति जनाउने कुन लोकतन्त्रवादी हुन्छ ?” शक्ति पृथकीकरणको सिद्धान्तलाई आफूहरुले विश्वास गर्ने जनाउँदै उहाँले न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्छ भने।
राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि दुई वामपन्थी दलबीच एकता गरिए पनि सङ्कट आएका कारण दिगो हुन नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य पोखरेलले बताए। उनले भने, “राजनीतिक स्थिरताका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएर विघटनको निर्णय भएको हो।” उनले प्रश्न गरे, “ताजा जनादेशमा जाने कुरा असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन सक्छ ?”
निर्वाचन तोकिएकै समयमा हुने जनाउँदै उहाँले यसलाई हुन नदिनका लागि कुनै खालका कोशिश नगर्न सबैलाई अनुरोध गरे। यो राजनीतिक अवसर भएकाले सबै सहभागी हुनुपर्ने उनको भनाइ थियो। उनले भने, “यो निर्वाचन ताजा जनादेशका लागि हो। यो सबैको हितमा हुन्छ।” उनले निर्वाचन आयोग, सुरक्षा निकायलगायत सबैले निर्वाचन तयारी गरिरहेको जानकारी पनि दिए।


























