चितवन । बिना इजाजत औषधि ओसारपोसार गरेकाे भन्दै चितवन प्रहरीले तीनजना युवाहरुलाई नियन्त्रणमा लिएकाे छ। वडा प्रहरी कार्यालय नारायणगढकाे टाेलीले भरतपुर ३ बस्ने वर्ष ३० का दीनेश तामाङ, साेही स्थान बस्ने वर्ष २२ का प्रदीप विश्वकर्मा र भरतपुर २ बस्ने वर्ष १८ का समीर तामाङलाई पक्राउ गरेकाे हाे। भरतपुर ३ कमलनगर बस्दै आएका दीनेश तामाङले आफ्नाे डेरामा लागू पदार्थकाे रुपमा प्रयाेग गर्ने उद्दश्यले बिना इजाजतका औषधि ओसारपाेसार गरेकाे भन्ने सुचनाकाे आधारमा खानतलासी गर्दा तामाङकाे डेराबाट विभिन्न खालका औषधिसमेत बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।
उनीहरुकाे साथबाट ट्रामा ९ हजार ४४३ वटा ट्याबलेट, अनार्गन ४३६ ट्याबलेट, स्टागन एक हजार २४० ट्याबलेट, रेड्मी माेवाइल दुईथान, सामसुङ माेवाइल र आइफाेन एक/एक थान बरामद गरेकाे प्रहरीले जनाएकाे छ। साथै नगद एक लाख ४६ हजार १४७ रुपैयाँ नगदसमेत बरामद गरेकाे प्रहरी प्रवक्ता थापाले जानकारी दिए। बरामद भएका नगद, सामान र पक्राउ परेका व्यक्तिहरुबारे औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जबाट थप अनुसन्धान भइरहेकाे उनले बताए।

























