काठमाडौं, फागुन ९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संवैधानिक निकाय र नागरिकलाई नथर्काउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्। मोरङको सुन्दरहरैचामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै डा.कोइरालाले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई नथर्काउन चेतावनी दिएका हुन्।
प्रधानमन्त्री ओलीले शुक्रबार निर्वाचन आयोगलाई सूर्य दिनुपर्ने बताएका थिए। त्यस्तै उनले शनिबार विराटनगरमा सर्वोच्च अदालतलाई संसद विघटनको विपक्षमा फैसला गरे आन्दोलनमा जाने चेतावनी दिएका थिए।
कोइरालाले भने, ‘प्रधानमन्त्री ओलीले सूर्य चिन्ह देउ भन्दै निर्वाचन आयोग र संसद विघटनको पक्षमा फैसला गर भन्दै सर्वोच्च अदालतलाई थर्काउनु भएको छ। जनतालाई हामी चुनाव जित्छौ जित्छौ सेटिङले हामीलाई हराइदिए भने खबरदार हामी आन्दोलन गर्छौ भन्दै धम्क्याउनु भएको छ।’
यसले दुई तिहाइ मतले निर्वाचित प्रधानमन्त्री कति डराएको भन्ने पुष्टि हुने पनि उनले बताए। आफू कमजोर भएपछि थर्काउने, धम्क्याउने तर्फ जो कोही तानाशाह लाग्ने गरेको नेता कोइरालाको टिप्पणी छ।
डा.कोइरालाले शक्तिशाली प्रधानमन्त्री कमजोर भएकोले साइबर सेनाको सहारा लिएको बताए। राष्ट्रपति र प्रधानमन्त्रीलाई केही भनेमा घरमै प्रहरी आउने कानुन निर्माणमा सरकार लागेको आरोप लगाउँदै कोइरालाले बोल्न पाउने अधिकार समाप्त पार्ने खेलमा सरकार लागेको बताए।
आफूले थर्काएर नपुगेर साइबर सेनाको सहाराले नागरिकहरुलाई डराउने ,धम्क्याउने, तर्साउने काममा सरकार आफै लागेको कोइरालाको आरोप छ।


























