विराटनगर, फागुन ८ । नेकपा ओली समूह मुलुक निर्माण गर्ने कित्ता रहेको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन्। शनिबार विराटनगरमा आयोजित विशाल सभालाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल–खनाल समूह मुलुकलाई अप्ठ्यारो सुरुङतर्फ लगेको र मुलुक निर्माण गर्ने कित्ता नेकपा ओली नै रहेको उनले बताए।
उनले भने, ‘खुमलटारमा दर्ता भएको प्रचण्ड–नेपाल–खनाल कम्पनीले अप्ठ्यारो सुरुङतर्फ रोजेको छ। यो कित्ताले मुलुकलाई सही दिशामा लाग्न सक्दैन। हाम्रो कित्ता राष्ट्रवादी, सुशासन, स्थायी यात्राको हो। हाम्रो कित्ता मुलुक निर्माण गर्ने कित्ता हो।’
यसअघि उनले, ‘मुलुकलाई अराजकतातर्फ धकेल्ने प्रयास भएपछि सरकारलाई जोगाएर ताजा जनादेशका लागि प्रधानमन्त्रीले चाल्नुभएको कदम सही छ। ताजा जनादेशका लागि निर्वाचनमा गएको छ। हिजो नै आधिकारीक रुपमा निर्वाचन आयोगले निर्वाचनबारे जानकारी दिइसकेको छ।’
साथै, आगामी १७ र २७ वैशाखमा हुने निर्वाचनमा भाग लिन सबै तयार रहेको पनि उनले बताए।


























