चितवन, फागुन ७ । कारागार कार्यालय भरतपुरमा रहेका १३ कैदीले आममाफी पाएका छन्। कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार ५० प्रतिशत कैद भुक्तान भई आचरण राम्रो भएका उनीहरुले आममाफी पाएका हुन्। आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका पाँच, कर्तव्य ज्यान मुद्दाका चार र ज्यान मार्ने उद्योगका चार जना रहेको उनले बताए। कार्यालयले २६ जनाको सिफारिस गरेकामा राष्ट्रपतिबाट १३ जनाको नाममा आममाफी भएको हो।
सरकारले हरेक वर्ष विभिन्न अवसरका क्रममा देशभरका कारागारमा रहेको असल चरित्र भएका र ५० प्रतिशत कैद भुक्तान भएकालाई राष्ट्रपतिमार्फत आममाफी दिने गरेको छ। प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस, संविधान दिवस र बडादशैँजस्ता अवसरमा आममाफी दिने गरिन्छ। कारागार कार्यालय भरतपरमा अहिले क्षमताभन्दा तेब्बर कैदीबन्दी छन्।
२५५ पुरुष बन्दीगृहमा ६२१ र २५ जना महिला बन्दीगृहमा ५७ जना रहेका छन्। उनीहरुसँगै तीनजना आश्रित बालबालिकासमेत रहेका काफ्लेले बताए। कैदीबन्दीको चाप बढेसँगै विभिन्न जिल्लामा स्थानान्तरण गरिने गरे पनि कोरोना कहरका कारण यसवर्ष स्थानान्तरण नगरिएको उनले बताए। – रासस


























