काठमाडौं, फागुन ७ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचन तोकिएकै समयमा गर्न आयोग प्रतिवद्ध रहेको बताएका छन्। शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसरमा जारी शुभकामना सन्देशमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो निर्वाचन तोकिएकै समयमा गर्न आयोग प्रतिवद्ध रहेको बताएका छन्।
फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने तथा देशभरी मतदान स्थल र मतदान केन्द्रहरूको निधो गरिने सन्देशमा उल्लेख छ। निर्वाचन सामाग्रीहरूको आन्तरिक बन्दोबस्त भइसकेको भन्दै उनले बाह्य रूपमा उपलब्ध गराउनुपर्ने सामाग्रीहरूको खरिद योजना तयार गरिएको आयोगले जनाएको छ। निर्वाचनमा सामाजिक सञ्जाललाई प्रभावकारी ढंगले प्रयोग गर्नका लागि सामाजिक सञ्जाल सम्बन्धी नीति तर्जुमा गर्ने प्रक्रियामा रहेको पनि थपलियाले बताए।
उनले भने, ‘आउँदो निर्वाचनको आन्तरिक तयारी लगभग पुरा गरेका छौँ। यही फागुन २१ गते सबै मतदाता नामावलीको नाम प्रकाशन गरिनेछ। देशभरी मतदानस्थल र मतदान केन्द्रहरूको निधो गरिनेछ। त्यसलगत्तै हाम्रा निर्वाचनका कार्यक्रमहरू अगाडी बढ्नेछन्। हामीले यो वर्ष निर्वाचनमा मिडिया क्षेत्रको भूमिका र विशेषत्ः सामाजिक सञ्जाललाई पनि प्रभावकारी ढंगले प्रयोग गर्नुपर्छ भन्ने ध्येयले सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति नै तर्जुमा गरेका छौँ। रणनीति तर्जुमा गर्ने प्रक्रियामा छौँ । निर्वाचनका सामाग्रीको आन्तरिक बन्दोबस्त भइसकेको छ। बाह्य रुपमा उपलब्ध गराउनुपर्ने सामाग्रीहरूको खरिद योजना तयार गरिएको छ भने विभिन्न किसिमका तालिम, कार्यक्रमका निम्ति आवश्यक सामाग्रीहरू तयार गरी अगाडि बढिराखेका छौँ।’
निर्वाचन कुनै पनि किसिमको स्रोत, साधन, पहुँच र शक्तिबाट प्रभावित नभइ विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्नेमा आयोग सधैँ अडिग रहेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए। निर्वाचन खर्चिलो र भड्किलो बन्दै गएको प्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको पनि बताए । आगामी निर्वाचनलाई मितव्ययी बनाउनको निम्ति आयोग सचेत रहेको उनको भनाइ छ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको मुल ध्येय स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी ढंगले निर्वाचन सम्पन्न गराउने रहेको उल्लेख गर्दै निर्वाचनसँग सम्बन्धित संघसंस्था, निकाय, व्यक्ति र विशेषगरी राजनीतिक दलहरूको भूमिका अपरिहार्य रहेको बताए। उनले आगामी निर्वाचनमा अत्यन्त उल्लासमय वातावरणमा जागरुक भई आफ्नो प्रतिनिधि छान्न आम मतदाता सरिक हुनेमा विश्वास समेत व्यक्त गरे।


























