काठमाडौं, फागुन ७ । नेकपा प्रचण्ड- माधव पक्षले बोलाएको आकस्मिक केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरु भएको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए।
बैठकमा पछिल्लो अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पछिल्लो विकसित राजनीतिक घट्नाक्रमका विषयमा ब्रिफिङ गरिरहेका छन्। प्रचण्ड माधव पक्षले आफ्ना सबै केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा बोलाएको थियो।
बैठकको निर्णयअनुसार आधिकारिकताका लागि निर्वाचन जाने नजाने टुंगो लाग्ने नेताहरुले बताएका छन्। गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर बैशाखमा निर्वाचन घोषणा गरेपछि राजनीतिक रुपमा विभाजित नेकपाले विभाजनको कानुनी मान्यता पाइसकेको छैन। कानुनी मान्यताका लागि बहुमत केन्द्रीय सदस्य रहेको प्रचण्ड–माधव पक्षले नेकपाको आधिकारिकता र सूर्य चिन्ह दावी गरेपनि निर्वाचन आयोगले निर्णय गर्न सकेको छैन।


























