– नारायण अधिकारी
चितवन । माेफसलकै ठूलो अस्पतालकाे पहिचान बनाएको भरतपुर अस्पतालमा छोटो समयमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन भइरहने समस्याले अस्पतालकाे काम कारवाही प्रभावित भएका छन्। गत भदौयता मात्रै अस्पतालमा तीन जना मेसु फेरिए। अस्पतालबाट विसं २०७७ भदौ २८ गते डा श्रीराम तिवारी सरुवा भएसँगै डा राजन पाण्डे प्रमुख मेसु भएर आए। मङ्सिर ८ गते उनले राजिनामा दिए। मङ्सिर ९ गते डा जगन्नाथ तिवारीलाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइयो।
त्यसअघि डा विश्वबन्धु बगाले जम्मा ४५ दिन, डा रवीन खड्का चार महिना र डा कृष्ण पौडेलले आठ महिना मेसु बनेका थिए।
तीन महिना नपुग्दै डा वासुदेव पाण्डेलाई मेसुको जिम्मेवारी दिइएको छ। अस्पतालका प्रवक्ता एवम् बालराेग विशेषज्ञ डा युवानिधि बसौलाका अनुसार डा पाण्डेले बुधबारदेखि कार्यभार सम्हालेका छन्। तर डा पाण्डे पनि उमेर हदका कारण आगामी वैशाख ५ गते अनिवार्य अवकाश हुँदैछन्। त्यसपश्चात् पुनःअर्को मेसु बनाउनुपर्ने हुन्छ। यसअघिका मेसु डा तिवारी एकवर्ष तीन महिना काम गरेर सरुवा भएका थिए। त्यसअघि पनि अस्पतालमा डा विश्वबन्धु बगालेले ४५ दिन, डा रवीन खड्काले चार महिना र डा कृष्ण पौडेलले आठ महिना मेसुको जिम्मेवारी बहन गरेका थिए। डा पौडेलभन्दा अगाडि डा रुद्रप्रसाद मरासिनीले भने २८ महिना प्रमुख मेडिकल सुपरिटेन्डेन्ट भएर काम गर्ने माैका पाए।
तत्कालीन समयमा अस्पताल विकास समितिको अध्यक्ष रहेका हाल बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले अस्पतालमा प्रमुखको स्थायित्व नहुँदा प्रभावकारीरुपमा काम गर्न नसकेकाे बताए। ‘कम्तीमा दुईवर्ष काम गर्न नपाए योजना बनाएर कार्यान्वयन गर्न सकिन्न,’ उनले भने। यस विषयमा सम्बन्धित मन्त्रालयमा पनि पटकपटक सुझाव दिइसकिएको उनकाे भनाइ छ।
छ सय शय्याकाे यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले प्रत्यक्षरुपमा सेवा लिने गरेका छन्।
दिगोरुपमा काम गर्ने वातावरण नहुँदा जिम्मेवारी पाएकाको आत्मबल उच्च बनाउन नसकिने उनको बुझाइ छ। अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी पनि छोटो समयमा मेसु परिवर्तन हुँदा विकास समितिले गरेका निर्णय कार्यान्वयन हुन नसकेको बताउँछन्। ‘हामी निर्णय गर्छौं तर मेसु फेरिइरहँदा कार्यान्वयन हुन सक्दैन,’ उनले भने। नयाँ आउने मेसुबाट कामकाे प्रकृया पूरा हुन नपाउँदै फेरि नयाँ आउँदा अस्पतालका धेरै काम रोकिएको उनले बताए।
अस्पतालभित्र भौतिक संरचना निर्माण र अन्य नियमित कामसमेत प्रमुख परिवर्तन हुँदा प्रभावित हुने गरेको छ। यो अस्पताल दुई वर्षअघि संघीय अस्पतालको रुपमा विकास भएकाे हाे। छ सय शय्याकाे यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले प्रत्यक्षरुपमा सेवा लिने गरेका छन्। सडक सञ्जालले जोडिएका कारण दुर्घटनाका घाइतेदेखि विभिन्न खालका रोगका बिरामीको उपचारको गन्तव्य यस अस्पतालमा हुने गरेको छ। प्रसूतिलगायतका सेवामा देशकै उत्कृष्ट मानिने यस अस्पतालले कोभिड उपचारको यस क्षेत्रको नेतृत्वसमेत गरेको थियो। – रासस
Facebook Comments


























