चितवन। मगर समुदायको पहिचान दिलाउन निर्मित मगर चलचित्र निर्माण सम्पन्न भएको एकवर्षपछि प्रदर्शन हुने भएकाे छ। गतवर्ष चैतमा नै प्रदर्शन गर्ने तयारीमा लागेकाे भए पनि कोभिड १९ का कारण परिस्थिति असहज भएपछि चलचित्रको प्रदर्शन रोकिएको थियो। अब भने समुदायस्तरमा जान सक्ने वातावरण बनेकाे भन्दै चलचित्र निर्माण टाेली प्रदर्शन गर्ने तयारीमा जुटेको छ।
बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी चलचित्र युनिटले छिट्टै प्रदर्शनकाे तयारी भइरहेको जानकारी गरायाे। चलचित्रको ट्रेलर र चलचित्रमा समावेश ‘भमरा डुल्यो’ सालैजो गीतसमेत यही माैकामा सार्वजनिक गरियाे। चलचित्रमा समावेश ‘के मेरो माया लाग्छ र’ बोलको गीत भने यसअघि नै मझेरी टिभी युट्युब च्यानलमार्फत सार्वजनिक भइसकेको छ।

तनहुँको आँबुखैरेनीस्थित सत्रसय रानागाउँकाे रमणीय दृश्य र भाैगाेलिक/सामाजिक पृष्ठभूमिमा चलचित्र बगेकाे छ। त्योबाहेक पवित्र धार्मिकस्थल देवघाटधाम, पोखरा र चितवनको रत्ननगरलगायतका स्थानका दृश्य पनि चलचित्रमा अटाएको छ।
चितवन जिल्लाबाटै कलाकार उत्पादन गर्ने लक्ष्यसहित चलचित्र निर्माण गरिएको हुँदा अधिकांश कलाकार यतैका हुन्। निर्माता/निर्देशक रमेश रानामगर स्वयंकाे मुख्य भुमिका रहेकाे यस चलचित्रमा उनले अधिकांश नयाँ कलाकारलाई समेटेका छन्। यसअघी दुई मगर चलचित्रमा अभिनय गरेकी मुख्य नायिका सनम आलेमगर, प्रेमकुमारी आलेमगर र बलबिक्रम थापामगरबाहेक अरू कलाकारसँग अभिनयकाे खास अनुभव छैन।

यसकाे बाबजुद पनि सबै कलाकारले बेजाेड प्रस्तुति दिएकाे निर्देशक रानामगरकाे दावी छ। ईश्वर रानामगर, प्रीज्मा आलेमगर, आशिक रानामगर, मिलन थापामगर, स्रष्टी थापामगर, देवी थापामगर, भीमबहादुर थापामगर, बलबिक्रम थापामगरलगायतका कलाकारहरुको अभिनयकला हेर्दा दर्शकले नयाँ कलाकार हुन् भन्ने आँकलन गर्न सक्दैनन् भन्ने पनि दावी गर्छन् चलचित्रका निर्माण व्यवस्थापक ईश्वर रानामगर।
करिब दुई दशकदेखि सञ्चारकर्ममा सक्रिय रमेश रानामगरको लेखन तथा निर्देशन रहेकाे उक्त चलचित्रकाे नाम ‘मिह्री’ हाे। ‘मिह्री’काे अर्थ नेपालीमा भाग्य हाे। मगर संस्कृतिमा आधारित चलचित्र चितवनबाट निर्माण भएकाे याे पहिलाे हाे। चलचित्रमा अमृता थापा रानामगर, प्रेमकुमारी आलेमगर, तुलमान गुरुङ र देवेन्द्र रानामगरकाे संयुक्त लगानी छ। दुई दशकदेखि नै चितवनको सञ्चार क्षेत्रमा कार्यरत घना गुरूङले चलचित्रलाई क्यामेरामा कैद गरेका हुन्। त्यतिमात्र हाेइन, त्यसमा सम्पादनकाे कामसमेत उनैले गरे।

चितवन जिल्लाबाट पहिलो पटक मगर संस्कृतिमा आधारित चलचित्र निर्माण गरेर समग्र चितवनवासी मगर समुदायको गरिमा बढाएको कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ चितवनका अध्यक्ष खिमबहादुर थापामगरकाे भनाइ थियाे। मन्तव्यकाे क्रममा अध्यक्ष मगरले संघको तर्फबाट चलचित्रलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय सदस्य राजु चौधरीले सञ्चारकर्ममा काम गरेको अनुभवलाई चलचित्र क्षेत्रमा प्रयोग गरेर चितवनबाटै नयाँ कामको थालनी गरेकोमा सह्राहना गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे। आगामी फागुन २० गतेभित्रै विशेष प्रदर्शनकाे तयारीमा रहेकाे याे चलचित्र रफ्तार मिडिया प्रा.लि.काे व्यानरमा निर्माण भएकाे हाे।



























