चितवन, फागुन ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा बन्न लागेको सिटीहल बन्न नदिनेको हातबाट शिलान्यास हुनु चितवनबासीको जितको रुपमा लिएको बताएका छन्।
गएको माघ १७ गते चितवनको सभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले ओली नै सिटीहलको विपक्षमा रहेको आरोप लगाए। ‘‘सिटीहल निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक–पटक बहस भएको थियो। सुरुमा प्रधानमन्त्री निर्माण हुन नदिने पक्षमा हुनुहुन्थ्यो। मलाई खुसी पनि लागेको छ एक अर्थमा। विरोधी नै आएर शिलान्यास गर्नु भनेको त ठूलो कुरा हो नि,’’ प्रचण्डले भने।
भरतपुरमा सिटीहल बन्न नदिने पक्षमा रहेका प्रधानमन्त्रीले नै अहिले शिलान्यास गर्नु आफ्नोसँगै यहाँका जनप्रतिनिधि र जनताको जित भएको उनको भनाइ थियो। उनले निर्माणाधीन सिटीहललाई चितवनको मात्रै नभइ देशकै महत्वपूर्ण सिटीहलको रुपमा विकास गर्न चुनावअघि आफूले जनताको बीचमा जाँदा नै घोषणा गरेको बताए। चितवन देशको मध्यभाग रहेको जिल्ला भएको र देशभरका कार्यक्रम यहाँ गर्न अनुकूल देखिएकोले सिटीहल निर्माणको योजना बनाइएको उनले बताए।
राजनीतिक स्थिति सामान्य रहने हो भने पाँच वर्षभित्र चितवनका सबै मूलसडकहरु कालोपत्रे हुने देखिएको उनले बताए। “मैले हिजो एक चक्कर लगाएँ। जे सपना देखिएको हो, त्यसअनुसार बाटोहरु बनेको र कतिपय बन्ने प्रक्रिया छन्,’’ उनले भने, ‘‘राजनीतिक स्थिति सामान्य रहने हो भने पाँच वर्षभित्र मैले भनेअनुसार मेरो निर्वाचन क्षेत्रभित्र सबै मूलसडकहरु पिच बन्ने सुनिश्चित देखेँ।’’
यस्तै, उनले पुल्चोक–गोन्द्रांग ६ लेन सडकको काम राम्रोसँग अघि बढेको देख्दा आफू खुसी रहेको पनि बताए। उनले कृषिमा आधुनिकीकरण, उत्पादन बढाउने, वैज्ञानिक खेती प्रणालीलगायतका काम पनि छिट्टै अघि बढाइने उल्लेख गरे। आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउन अन्य दलहरुसंँग छलफल र समन्वय भइरहेको उनको भनाइ छ।


























