काठमाडौं, माघ २८ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयलगाडा बाहेक अरु चुनाव चिन्ह नरहेको बताएका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध आफ्नो समूहले काठमाडौँमा गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगलाई धम्कीबाट नडराई सही निर्णय गर्न भन्दै यस्तो बताएका हुन्।
‘केपी ओली सच्चिनेवाला छैनन्, हामी आशा गरिरहेका छौँ। सर्वोच्चबाट संसद पुनःस्थापना हुने आशा गरेका छौँ। निर्वाचन आयोगले पनि सही निर्णय गर्छ भन्ने आशा गरेका छौँ,’ नेपालले भने, ‘सूर्य चिन्ह हामीसँग छ। केपी ओलीसँग बयलगाडाको चिन्ह बाहेक केही छैन।’
उनले अहिले देशमा संविधानलाई मान्ने र मिच्नेहरुको लडाईँ चलिरहेको पनि बताए। त्यस्तै उनले माधव नेपाल र पुष्पकमल दाहालबीच फाटो ल्याउने कदम सफल नहुने पनि बताए। उनले पूर्वएमालेहरुलाई केपी ओली कहिल्यै एमाले नभएको पनि बताए। ‘ओलीसँग ओली फाउण्डेशन बाहेक केही छैन। केपी ओली कहिल्यै पनि एमाले भएका थिएनन। उनको भ्रममा कोही नपर्नुस्,’ उनले भने, ‘मुल घर त्यो होइन। मुल घर यही हो।’


























