काठमाडौं, माघ २८ । निर्वाचन आयोगले आउँदो वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनका लागि आवश्यक सामाग्री खरिदका लागि टेण्डर आह्वानको तयारी गरेको छ।
टेण्डर आह्वान गर्ने आज तयारी भैरहेको आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए। प्रतिनिधिसभा विघटनसँगै तोकिएको मितिमै चुनाव गराउने तयारीसहित आयोग लागिपरेको र आवश्यक सामाग्री खरिदका लागि टेण्डर आह्वन गर्न लागिएको उनको भनाइ छ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटबारे सर्वोच्चको फैसला नआइसकेको र नेकपाभित्रको विवाद समाधान नभैसकेको अवस्थामा आयोगले चुनावी तयारीलाई तिब्रता दिएको हो।
प्रतिनिधि सभा विघटनसँगै आउँदो वैशाख १७ र २७ गतेका लागि मध्यावधि चुनाव घोषणा भएको छ। पहिलो चरणमा वैशाख १७ गते ४० जिल्लामा र दोस्रो चरण २७ गते ३७ जिल्लामा चुनाव गराउने सरकारको तयारी रहेको छ।
वैशाख १७ गते कर्णाली, लुम्बिनी, प्रदेश २, गण्डकीका ४० जिल्लामा तथा दोस्रो चरणमा सुदूरपश्चिम, वाग्मती र प्रदेश १ का ३७ जिल्लामा चुनाव गर्ने सरकारले निर्णय गरेको छ।


























