काठमाडौं, माघ २६ । प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेपालको संविधान कुल्चेर इतिहासमा कलंकित भएको टिप्पणी गरेका छन्।
काठमाडौंमा आज आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केपी ओली प्रतिगमनको बाटोमा हिँडेको आरोप पनि लगाए। साथै प्रचण्डले आफू शान्ति र स्वतन्त्रताको पक्षमा उभिँदा आफूहरुको जित भएको र केपी ओलीको हार भएको समेत दाबी गरे।
कार्यक्रममा बोल्दै प्रचण्डले आफूहरू पदका लागि सडकमा नआएको दाबी गरे। उनले विचारका निम्ति पार्टीभित्र संघर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरे।
‘केपीसँग परेको प्रधानमन्त्रीको निम्ति लडाइँ परेको हो पनि भन्छन्, यो सबै केपी र केपीका गुटका मान्छेले गरेको षडयन्त्र हो, हामी विचारका निम्ति, सिस्टमका निम्ति लडेको हो,’ उनले भने।
‘हाम्रो आन्दोलनलाई र विचारलाई बदनाम गर्न षडयन्त्र भएको हो,’ प्रचण्डले भने, ‘हामी जनताको पक्षमा गयौँ, हामी लोकतन्त्रको पक्षमा गयौँ, हामी जनतासँग जोडियौँ, हामी सडकमै गयौँ, त्यसैले हामीलाई गर्व छ।’


























