चितवन, माघ २२ । नेकपा प्रचण्ड माधव समुहले आज गरेको आम हडतालको प्रभाव बिहानदेखि परेको छ। बन्दकर्ताले चितवनमा चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन्।
बन्दकर्ताले ना ३ ख ३९३, ना १ क १४३५ र ना ८ ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ। मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन्। यस्तै टाँडीबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ।
फाट्टफुट्ट केही साधन चले पनि सडक सुनसान भएको प्रहरीले जनाएको छ। जिल्लाका मुख्य मुख्य सडकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।




Facebook Comments


























