चितवन, माघ २२ । संवैधानिक निकायमा सरकारले प्रक्रिया मिचेर एकतर्फी रुपमा नियुक्ती गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले विरोधमा आज देशव्यापी आम हड्तालको घोषणा गरेको छ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार पत्रकार सम्मेलन गरेर प्रचण्ड नेपाल समूहले यातायात, उद्योग कलकारखाना, शैक्षिक संस्थालगायत सबै क्षेत्र बन्द गर्ने घोषणा गरेको हो।
प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको मनपरी र निरङ्कुशता बढ्दै गएकाले त्यसलाई रोक्न आमहड्ताल गर्नुपरेको दाबी गरे। प्रतिनिधि सभा विघटनको विरुद्ध आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले आकस्मिक रुपमा आम हड्ताल घोषणा गरेको हो। नेकपाको केपी शर्मा ओली समूहले शुक्रबार काठमाडौंमा सभा गर्दै छ। तर त्यो सभालाई लक्षित गरेर नभई एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको विरोधमा हड्ताल गरेको श्रेष्ठको दाबी छ।


























