काठमाडौँ, माघ २२ । नेकपा (प्रचण्ड–नेपाल खेमा) ले आह्वान गरेको आम हड्तालको प्रभाव काठमाडौँ उपत्यकासहितका स्थानमा बिहानैदेखि देखिन थालेको छ। प्रहरीले बिहीबार बिहानै बन्द गराउँदै हिँड्ने कम्तीमा ३० जनालाई पक्राउ गरेको जनाएको छ।
गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन्। आगलागीबाट प्रदेश ३–०१००२ ज ५८८१ नम्बरको ट्याक्सी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा (प्रचण्ड–नेपाल खेमा) बिहीबार आम हड्तालको आह्वान गरेको हो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए।
सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानूनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–नेपाल समूहले आकश्मिक रुपमा आम हड्ताल गर्ने घोषणा गरेको हो। यसैबिच गृह मन्त्रालयले बन्द गराउनेलाई कारवाही गर्ने चेतावनी पनि दिएको छ।


























