काठमाडौं, माघ २० । नेकपाको प्रचण्ड–नेपाल समूह आज पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने भएको छ। पेरिसडाँडामा हिजो बसेको केन्द्रीय समिति बैठकले पार्टी र चुनाव चिन्हबारे पुनः दाबी पेश निर्णय गरेसँगै आज आयोगमा जान लागेको नेकपा नेता लिलामणि पोखरेलले जानकारी दिए।
नेता पोखरेलको नेतृत्वमा राजेन्द्रप्रसाद पाण्डेसहितका नेताहरु आज मध्याह्न निर्वाचन आयोगमा जाँदैछन्। बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै प्रचण्ड–नेपाल समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ।
प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ। ओली पक्षले पनि केन्द्रीय कमिटी विस्तार गरेको थियो। दुवै समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए। तर आयोगले दुबै पक्षको आग्रह अस्वीकार गर्दै कानुनीरुपमा नेकपा एक रहेको जनाएको थियो।


























