चितवन माघ १६ । दाहाल–नेपाल समूहको नेकपा चितवनले भोलि (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने कार्यक्रममा सहभागी नहुन अपि गरेको छ। सिटी हल निर्माण र छ लेनको पुलचोक–गोन्द्राङ सडक बिस्तारको शिलान्यास गर्न प्रधानमन्त्री ओली चितवन आउने भएपछि दाहाल–नेपाल समूहको नेकपाले चितवनमा आफूहरुको आयोजनामा कुनै कार्यक्रम नभएको प्रष्ट पार्दै चितवनमा अर्को समूहको नेकपा नभएको दाबी गरेको छ।
‘ओली समूहका एक दुईजनाले गुट बनाएर गर्न लागेको गतिविधिसँग हाम्रो कुनै सम्बन्ध छैन,’ अध्यक्ष यमबहादुर परियारले भने, ‘पार्टी नै नभएको ठाउँमा कार्यक्रम गर्नुको कुनै अर्थ पनि छैन।’ जनस्तरबाटै विरोध भएपछि प्रधानमन्त्री ओली अत्तालिँदै नाटक मञ्चन गर्न विभिन्न जिल्ला पुग्ने गरेको उनको आरोप छ। संविधानको मर्मविपरीतका गतिविधि गरेर जनताबाट तिरस्कार हुन थालेपछि आफू लोकप्रिय बन्ने बाटो खोज्दै हिँडेको उनको भनाइ छ। प्रधानमन्त्री ओलीले जनतासमक्ष भ्रम छर्दै हिँडेकोले भ्रमको पछाडि नलाग्न पनि उनले आग्रह गरे।

























