काठमाडौं, माघ १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादमा निर्वाचन आयोगले आज ओली र प्रचण्ड–नेपाल दुवै पक्षलाई आयोगमा डाकेको थियो। नेकपाको विवादले निर्वाचनको तयारी अघि बढाउन समस्या हुन सक्ने भन्दै दुवै पक्षलाई डाकेकोमा प्रचण्ड–नेपाल पक्षले आयोगले संवैधानिक अंगको रुपमा तटस्थ भूमिका देखाउन नसकेको भन्दै आयोगको भूमिकामा प्रश्न उठाएर फर्किएको छ।
तर, ओली पक्षले भने आयोगलाई निर्वाचनको तयारीमा निरन्तर अघि बढ्न आग्रह गरेको छ। सुवासचन्द्र नेम्वाङको नेतृत्वमा गएको ओली पक्षको टोलीले कुनै समूहले प्रश्न उठाउँदैमा निर्वाचन प्रभावित नहुने भन्दै आयोगले आफ्ना काम नियमित गर्न अग्रह गरेको हो।
“हामी निरन्तर रूपमा अघि बढ्दै तोकिएको समयमा निर्वाचन गर्छौँ, अर्थात वैशाख १७ र वैशाख २७ मै निर्वाचन हुन्छ, अहिले निर्वाचन आयोगसँगको छलफलपछि हामी यो निष्कर्षमा पुगेका हौँ,” आयोगबाट फर्कने क्रममा नेम्वाङले भने, “जहाँसम्म एउटा समूह विरोधमा रहेका बेला के हुन्छ भन्ने तपाईंहरुको चिन्ता छ, त्यसमा आयोगले आवश्यक समयमा उपयुक्त निर्णय गर्छौँ भनेको छ।”


























