चितवन माघ १६ । भोलि (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने भनिएको कार्यक्रमप्रति भरतपुर महानगरपालिकाले असन्तुष्टि जनाएको छ। स्थानीय सरकारलाई कुनै समन्वय नै नगरी केन्द्र सरकारले आफूखुसी प्रधानमन्त्रीको उपस्थितिमा कार्यक्रम गर्न लागेको भन्दै भरतपुर महानगरले असन्तुष्टि जनाएको हो।
चितवनमा भोलि (शनिबार) प्रधानमन्त्री ओलीबाट भरतपुर महानगरपालिका वडा नं.१० मा बन्दै गरेको सिटी हल र पुलचोक गोन्द्राङ छ लेनको सडक निर्माणको शिलान्यास गर्ने कार्यक्रम छ। ‘तर, भरतपुर महानगरपालिकालाई कार्यक्रममा खबर गर्नु त परको कुरा समन्वय पनि गरेन, त्यसैले हाम्रो गम्भीर आपत्ति छ,’ आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाकी मेयर रेनु दाहालले भनिन्, ‘केन्द्र सरकारले स्थानीय सरकारमाथि गरेको गम्भीर विभेद हाम्रो लागि सह्य छैन।’
त्यसैले उक्त कार्यक्रममा स्थानीय सरकारको तर्फबाट उपस्थित नहुने पनि उनले बताइन्। भरतपुर महानगरपालिकाले विगत तीन वर्षदेखि प्रयास गर्दागर्दा बल्ल निर्माणको काम सुरु भएको अवस्थामा केन्द्र सरकारले आफूखुसी शिलान्यासको काम गर्न खोजेको सुन्दा महानगरको चित्त दुःखेको उनले बताइन्।
सिटी हल निर्माण र पुलचोक गोन्द्राङ सडकलाई छ लेनको बनाउने काम दुई महिनाअघिदेखि सुरु भएको उनले बताइन्। बीचमा महानगरपालिकाले शिलान्यासको मिति नै तोकेर तयारी गर्दासमेत केन्द्र सरकारले विभिन्न खालको बहाना बनाएर शिलान्यास गर्न नदिइएको पनि उनले आरोप लगाइन्। ‘अहिले महानगरलाई जानकारी नै नगराई, महानगरलाई निषेध गरेर शिलान्यास गर्न लागेको कामप्रति महानगर असहमति प्रकट गर्दछ,’ उनले भनिन्, ‘स्थानीय सरकारलाई निषेध गरेर संघीयताको मूल मर्मविपरीत केन्द्रीकृत शासनको झल्को दिने गरी संघीय सरकारले गम्भीर विभेद गरेको छ भने स्थानीय सरकारको अधिकारमाथि ठाडो हस्तक्षेप गरेको हामीले महसुस गरेका छौँ,’ उनले भनिन्।


























