काठमाडौं, माघ १५ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ दिनभित्र आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई बाटोको म्याद बाहेक ५ दिनभित्र अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको हो।
प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो। प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता डाक्टर कुमार शर्मा आचार्यले मुद्दा दायर गरेका थिए।
साथै, चार पूर्व प्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीका साथै पूर्व सभामुख दमननाथ ढुंगानालाई पनि बाटोको म्यादबाहेक ५ दिनभित्र अवहेलना मुद्दामा जवाफ दिनका लागि आदेश दिएको हो।
प्रधानमन्त्री ओलीलाई अवहेलना मुद्दामा अदालतमा उपस्थित गराएर बयान लिई कारबाही गर्नुपर्ने माग कानून व्यवसायीहरूले गरेका थिए। अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतमा प्रधानमन्त्रीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन दायर गरेका थिए।


























