नवलपुर, माघ ५ । जलपक्षी गणनाका क्रममा नवलपुर क्षेत्रमा पाँच प्रजातिका नयाँ चरा भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज तथा नारायणी नदीका विभिन्न भङ्गालो र सिमसारमा गणना गरिएको थियो।
गत पुस २६ देखि यही माघ १ सम्म गरिएको गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पाँच प्रजातिका नयाँ जलपक्षी भेटिएका हुन्। निकुञ्ज अन्तर्गत पश्चिम क्षेत्रका जलपक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष यस क्षेत्रमा लाल ठुँडे हाँस, पानी चाह, चत्राङ, कैलो टाउके हाँस र मालचरी जलपक्षी गणना गरिएको जानकारी दिए। यी प्रजातिका चरा निकुञ्जको पश्चिम क्षेत्रमा पहिलो पटक देखा परेका उनको भनाइ छ। निकुञ्जको पश्चिम क्षेत्र अन्तर्गत पर्ने नारायणीको भङ्गालो तथा सिमसार क्षेत्रमा विभिन्न ४६ प्रजातिका जलपक्षी भेटिएकासमेत उनले जानकारी दिए।
निकुञ्जको नवलपरासी क्षेत्रमा यसवर्ष जलेवा चराको सङ्ख्यामा वृद्धि भएको उनले जानकारी दिए। यसवर्ष गरिएको गणनाका क्रममा पश्चिम क्षेत्रमा दुई हजार ८१७ जलेवा भेटिएका थिए। गणनाका क्रममा पानी गौँथली, नेपाली हरिहाँसको सङ्ख्यासमेत वृद्धि भएको पाइएको उनले बताए।
केही प्रजातिका जलपक्षीको सङ्ख्या बढेको भए पनि चखेवाको सङ्ख्यामा भने कमी आएको संयोजक चौधरीको भनाइ छ। उनकाअनुसार गत वर्ष ६ हजार ३१३ वटा भेटिएको चखेवा यस वर्ष पाँच हजार ५७६ वटा मात्रै भेटिएका छन्। पाँच दिन लगाएर गरिएको चरा गणनाका क्रममा जिल्लाको गैँडाकोटमा पर्ने सिख्रौलीघाटदेखि त्रिवेणीसम्मको क्षेत्रलाई तीन भागमा विभाजन गरेर जलपक्षी गणना गरिएको थियो।
गणनामा संम्लग्न चराविद् तथा गणकहरुले टेलिस्कोप र वाइनाकुलरको सहायताले जलपक्षीको गणना गर्ने गर्दछन्। हिउँदको समयमा साइबेरियासहितको उत्तरी गोलाद्र्धबाट चरा जाडो छल्न नेपालका विभिन्न सिमसार तथा नदीमा आउने भएकाले यो समयमा जलपक्षीको गणना गर्ने गरिएको छ।
मध्य पुसमा नेपालसहित एशियाका २७ देशका विभिन्न ६ हजार १०० स्थानमा जलपक्षी गणना गर्ने गरिएको बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष रमेश चौधरीले बताए। मानवीय क्रियाकलापका कारण नदीमा प्रत्यक्ष असर पर्दा पछिल्लो समय जलपक्षीको बासस्थानमा समस्या उत्पन्न भएको अध्यक्ष चौधरीले बताए। नदीजन्य पदार्थको उत्खनन तथा नदीमा जथाभावी फोहर मिसाइदा जलचरको अस्तित्वसमेत खतरामा परेको उनको भनाइ छ। रासस


























