काठमाडौं, माघ ५ । निर्वाचन आयोगले आगामी वैशाखमा तय भएको मध्यावधि निर्वाचनको खर्चबारे छलफल थालेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार चुनाव खर्चबारे सामान्य छलफल भएको छ। यसबारे आइतबार अर्थसचिवसँग छलफल गरिएको उनले बताए।
“हिजो अर्थसचिवसँग कुरा भएको छ। अहिले लगभग ८ अर्बको अनुमान भएको छ। टुंगो लागिसकेको छैन्। यो हप्ताभित्र आँकलन टुंग्याएर अर्थ मन्त्रालयलाई पत्र पठाउँछौँ,” प्रवक्ता श्रेष्ठले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गरिएको थियो। वैशाख १७ र २७ गतेका लागि चुनावसमेत तय गरिएको छ। उता, प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। यसबारे निरन्तर सुनुवाइ भइरहेको छ। निर्वाचन आयोगले भने निर्वाचनको तयारी अघि बढाएको छ।
आयोगले आइतबार निर्वाचनका विषयमा राजनीतिका दलका प्रतिनिधिसँग छलफलसमेत गरेको थियो। आयोगले निर्वाचनका लागि मतदान स्थल र केन्द्र तथा मतदाता नामावली अध्यावधिकको कार्य पनि अघि बढाएको छ।
निर्वाचन आयोगले आज (सोमबार) वार्षिक प्रतिवेदन बुझाउने भएको छ। आयोगले प्रतिवेदन दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने प्रवक्ता श्रेष्ठले बताए।


























