चितवन, माघ ३ । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-२ टाँडी चोकमा चितवन जिल्लाकै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ। वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले टाँडी चोकमा आकाशे पुल निर्माण गरेका हुन्।
पुलको उद्घाटन गर्दै नगर प्रमुख नारायण वनले नागरिक सुरक्षाप्रति संवेदनशील हुँदै पुल निर्माण गरिएको बताए। नगरको सौराहाचोक र बकुलहर चोकमा पनि आकाशे पुल निर्माण गरिने उनले जानकारी दिए।
वनका अनुसार राजमार्गमा तीव्र गतिमा हिँड्ने सवारी साधन र मालवाहक सवारीलाई असर नपर्ने गरी अग्लो पुल निर्माण गरिएको छ। यसले सडक दुर्घटनामा कमी ल्याउने उनले बताए। चिटिक्कको रत्ननगर बनाउने अभियानमा नगरपालिका लागिपरेको नगर प्रमुख वनले बताए।

कार्यक्रममा नगर प्रमुख वन, उपप्रमुख विमला दवाडी, नेकपा नगर अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली कांग्रेस नगर सभापति रुपनराज घिमिरे, वडा-२ का अध्यक्ष तिलकराज शर्मा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर र उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठलगायतले बोलेका थिए।
नगरपालिकाका इञ्जिनियर पङ्कज गिरीका अनुसार २ करोड ३९ लाख ९२ हजार २ सय ७० रुपैयाँको लागतमा पुल निर्माण गरिएको हो। पुल निर्माण गर्न वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले २ करोड ६२ लाख रुपैयाँ छुट्याएका थिए। हिम सगरमाथा कन्स्ट्रक्सन प्रा.लि. भरतपुरले गत फागुन २ मा २ करोड ४२ लाख १४ हजार ५ सय ३३ रुपैयाँमा ठेक्का लिएको थियो।
४२.३ मिटर लम्बाइ, ५.५ मिटर उचाइ र ३ मिटर चौडाइको फलामे संरचनाबाट निर्माण आकाशे पुलमा दुवैतर्फबाट आवतजावत गर्न मिल्छ। जमिनको सतहसम्म कंक्रिट र त्यसमाथि स्टिल प्रयोग गरिएको छ। पुलको दुवैतर्फ दायाँबायाँ ३३ हजार केभीको ५०-५० मिटर बिजुलीको तारलाई भूमिगत गरिएको इञ्जिनियर गिरीले बताए।

२०७६ फागुन २ गते असार मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि कोरोना महामारी र लकडाउनका कारण गत पुस २२ मा मात्रै आयोजना सम्पन्न भएको नगरपालिकाले जनाएकाे छ। कोरोना महामारी र लकडाउनका कारण सिर्जित असहज परिस्थितिको बीचमै काम थालिए पनि छोटो समयमै पुल तयार भएको हो। यो पुल जिल्लाकै पहिलो आकाशे पुल हो।
पुल बनेसँगै यात्रुलाई सडक वारपार गर्न सहज हुनुका साथै दुर्घटनाको जोखिमसमेत घट्ने नगरपालिकाले विश्वास लिएको छ। ‘टाँडी पूर्वी चितवनकै व्यस्त चोक हो। पैदल यात्रुले सडक वारपार गर्न आकाशे पुल प्रयोग गर्न थालेपछि ट्राफिक व्यस्थापनमा सहजता थपिनेछ, स्वतः बाटो काट्ने क्रममा हुने गरेका दुर्घटना पनि घट्नेछ,’ नगर प्रमुख वनले भने, ‘यसले नगरपालिकाको सौन्दर्यलाई बढावासमेत दिनेछ।’
आकाशे पुलमा नेपालको राष्ट्रिय भण्डासमेत टाँगिएको छ।



























