सञ्जय चौधरी, चितवन, पुस १ । थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघे संक्रान्ति (खिचरा) पर्व मनाउँदै छन्। चितवनका थारु समुदायमा पनि माघे संक्रान्ति (खिचरा) को रौनक कम छैन। थारु समुदायले आजका दिनलाई नयाँ वर्ष आरम्भको रुपमा पनि लिनेभएकोले यसको महत्व अझ बढि छ।
थारु समुदायले आजका दिन बिशेष गरी चिच्चर (प्वाका), माछा, मासु लगाएतका परिकार खाने गर्दछन्। माघे संक्रान्तिका दिन स्वास्थ्यका दृष्टिले शक्तिवद्र्धक मानिने तरुल, चाकु, सखरखन्ड र दाल–चामल मिसाएको खिचडी जस्ता परिकार खाए चिसोबाटसमेत बच्न सकिने विश्वास गरिन्छ। आजदेखि दिन लामोे र रात छोटोे हुने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने गरीन्छ।
सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघे संक्रान्ति पर्व पर्दछ। यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ। चितवनका थारुहरुले माघे संक्रान्ति पर्वलाई खिचरा भन्दछन् भने अन्य जिल्लाका थारुहरुले यस पर्वलाई माघी, खिचरी भन्ने गर्दछन्। माघि पर्व चितवन बाहेक पश्चिमका नवलपरासि, दांङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा रहेका थारु समुदायले पनि माघे संक्रान्ति पर्व हर्षो उल्लासका साथ मनाउने गर्दछन्। चितवन, नवलपरासि, तनहुँको संगम स्थल देवघाटमा आज बिहानै देखि स्नान, पूजा पाठ गर्ने तिर्थालुहरुको घुईचो छ। माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा पाठ गर्ने परम्परा थारु समुदायमा छ।
यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ। तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास छ। तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।
विशेषगरी तराईका थारुले अनदी चामलबाट बनाइएको चिच्चर (प्वाका), खिचडी खाने हुनाले यस चाडलाई खिचरा र खिचडी भन्ने चलन पनि छ। चिच्चर (प्वाका) खानाले माघे संक्रान्तिको दिन देखी जाडो कम हुदै जाने विश्वास पनि गरिन्छ। थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको चिच्चर बनाएर राख्ने गर्छन्। पुसमा पकाएर, माघमा खाने भन्ने नेपाली उखान अनुसार पौष्टिक मिष्ठान भोजन खाएर माघ १ गते माघे संक्रान्ति पर्व मनाइन्छ। बहु जाति बहुभाषिहरुको बसोबास रहेको हाम्रो देशमा थारु समुदायको माघे संक्रान्तिको पनि उतिकै महत्व छ। विवाह, यात्रा, बसाइँसराईका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ।

























