चितवन, पुस २८ । चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा नारायणी र राप्ती नदीमा जलपन्छी गणना सुरु गरिएको छ। विश्वभर जनवरी ५ देखि जलपन्छी गणना गरिने भए पनि चितवन निकुञ्जमा भने विशेष कारणले १० जनवरीबाट गणना सुुरु गरिएको हो।
बर्ड एजुकेशन सोसाइटीको अगुवाइमा भएको चरा गणनामा चितवनको भण्डारादेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को त्रिवेणीसम्मका विभिन्न सिमसारमा जलपन्छी गणना गरिँदैछ। बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष रमेश चौधरीले विभिन्न नौजना चरा विज्ञलाई टोली नेताका रुपमा चयन गरेर ५० बढी गणकहरु चरा गणनामा सहभागी भएको बताए। विश्वव्यापीरुपमा गरिएको चरा गणनाको नेतृत्व ‘वेटल्यान्ड इन्टरनेशन’ले गर्ने भन्दै चौधरीले २७ देशका ६ हजार १०० स्थानमा एकैसाथ जलपछी गणना भइरहेको जानकारी दिए।
विश्वमा पाइने १७५ प्रजातिका जलपछीमध्ये नेपालका सिमसार क्षेत्रमा १६० प्रजाति गणना गरिएको अध्यक्ष चौधरीले बताए। ‘जलपन्छीको विभिन्न १२ वटा प्रजाति संकटापन्नको सूचीमा परेका छन्’, उनले भने, ‘नेपालमा सारससहित तीनवटा प्रजाति संरक्षणको सूचीमा छन्।’ जलकौवा, चखेवालगायत हाँस प्रजातिहरु नारायणी र राप्ती नदीमा बढी मात्रामा भेटिने गरेको भए पनि यस वर्ष यिनीहरुको संख्यामा समेत कमी आएको उनको भनाइ छ।
बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष एवम् चराविज्ञ बासु बिडारीले नदीका जलाधार क्षेत्रमा प्रदूषण बढ्दै जाँदा जलपन्छीको संख्यामा कमी आएको बताए। ‘शहरीकरणसँगै हाम्रा नदीहरु प्रदूषित बन्दै गइरहेका छन्’, उनले भने, ‘जसको प्रत्यक्ष असर जलपन्छीहरुमा परेको छ।’ नदीहरुमा बढ्दै गएको प्रदूषण न्यूनीकरण गर्न नसकेको अवस्थामा नेपालबाटै जलपन्छीहरु लोप हुने खतरा बढ्दै गएको भन्दै विडारीले बेलैमा सचेत हुनुपर्ने बताए।
चितवन राष्ट्रिय निकुञ्ज र यसको सिमसार क्षेत्रमा गणना भएका चराहरुको तथ्याङ्कलाई यस वर्षदेखि स्थानीयरुपमा समेत सार्वजनिक गर्ने गरी काम भइरहेको चराविज्ञ टीका गिरीले बताए। अघिल्लो वर्षमा हुने गणनाको रिपोर्ट एकमुष्ट निस्कने गरेको भए पनि यस वर्षदेखि चितवन र यस वरपरको क्षेत्रको तथ्याङ्क बर्ड एजुकेशन सोसाइटीले समेत सार्वजनिक गर्ने उनको भनाइ छ। नारायणी र निकुञ्ज क्षेत्रमा पाइएका चराहरु, यिनीहरुको बासस्थानको अवस्था, संरक्षणका प्रयासबारे सरोकार पक्षसँग अन्तरक्रिया गर्दै संरक्षणमा सबैको साथ लिएर अगाडि बढ्ने तयारी भइरहेको चराविज्ञ गिरीले बताए। निकुञ्जले बनाउने घाँसेमैदान एकै प्रकृतिको भएको, चरा विज्ञसँग कुनै पनि छलफल नगरी निर्माण गरिँदा जलमा आश्रित पन्छीहरुको बासस्थानमा समस्या हुँदा संख्या घटेको उनको भनाइ छ।
आइतबार र सोमबार गरिएको जलपन्छी गणनामा चखेवा, जलकौवा, गडवाल, कुट, किङफिसर, बकुल्ला, गरुड, भुँडीफोर गरुड, कालो गरुड, स्युइरो ठुँडे हाँस आदि प्रजाति भेटिएको चराविज्ञ गिरीले बताए। विश्वव्यापीरुपमा गरिने गणनानुसार आउने तथ्याङ्कले जलपक्षीको संरक्षणका लागि रणनीति तयार गर्न सहयोग पुग्ने उनको विश्वास छ। रासस


























