काठमाडौं, पुस २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउन अभियान सुरु गरेका छन्। उनले शनिबार एक अपिल जारी गर्दै आफूले कुनै पनि समूहलाई समर्थन नगरी नेकपा एकता राष्ट्रिय अभियान सुरु गरेको जानकारी दिएका हुन्। पुनर्एकीकरणमा सामेल नभए नेताहरुलाई नेपाली जनताले कहिल्यै माफी नदिने उनको भनाइ छ।
‘यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुनर्एकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी दिनेछैनन्,’ गौतमले अपिलमा भनेका छन्।
उनले एक अर्कालाई दोष दिँदै सामान्य मानमर्यादा उल्लंघन गर्दै आफ्ना ऐतिहासिक योगदानाई च्याँखे थापेर देश र विदेशका कम्युनिष्ट विरोधीहरुलाई हसाउँदै सुरु गरेको लडाइँ बन्द गर्न र पुनर्मिलन गर्न पनि आव्हान गरेका छन्। ‘हजारौं सहिदहरुको रगतबाट विकसित भएको हाम्रो प्यारो पार्टीलाई मिलेर पुनर्गठन गरौं, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित सञ्चालन गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधलाई पार्टी पद्दतिअनुरुप सम्मानजनक ढंगबाट हल गरौं,’उनले भनेका छन्।
गौतमले एकीकरणमा सामेल भएका दुई पार्टीका मुख्य नेताहरुमा रहेको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दुर्घटना राष्ट्रले बेहोर्नुपर्ने अवस्था सृजना भएको उल्लेख गरेका छन्। ‘पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधि सभालाई दुरुपयोग गर्नेसम्मका घटना हुनु राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी अवस्था हो,’ उनले भनेका छन्।
उनले छापामार शैलीमा अविश्वासको प्रस्ताव दर्ता गरिएको टिप्पणी पनि गरेका छन्। अपिलमा उनले भनेका छन्,‘पार्टीभित्र कुनै पनि तहमा संस्थागत छलफल र निर्णय नगरी छापामार शैलीमा एक अध्यक्षले पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीविरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रतिनिधिसभा भंग गर्नेसम्मका दुर्घटना अहिले पार्टीले बेहोर्नु परेको छ,’ उनले भनेका छन्।
























