काठमाडौं, पुस २२ । स्वास्थ्य तथा जना जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा वायु प्रदुषण बढेको भन्दै सतर्क रहन अनुरोध गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले मंगलबार विज्ञप्ति निकालेर मर्निङवाक जाने वा घरबाहिर गएर गर्ने व्यायाम केही दिनका लागि रोक्न अनुरोध गरेका छन्।
उपत्यकाभित्र अत्याधिक रूपमा वायु प्रदुषण बढेको भन्दै अधिकारीले यसबाट श्वासप्रश्वास कठिनाइ लगायत समस्या देखा पर्ने उल्लेख गर्नुभएको हो। सकेसम्म घरबाहिर ननिस्कन र निस्कनैपरे मास्कको अनिवार्य रूपमा प्रयोग गर्न उहाँले अनुरोध गरेका छन् अत्यावश्यक कामका लागि घरबाहिर जाँदा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन पनि मन्त्रालयले अपील गरेको छ।
मन्त्रालयले फोहोर नचलाउन र अत्यावश्यक नभइ सवारी साधनहरू समेत नचलाउन पनि अनुरोध गरेको छ। धुलो धुँवा उड्ने खालका पेसा व्यवसाय र निर्माण कार्य केही दिन रोक्न पनि मन्त्रालयले अपील गरेको छ।
उपत्यकाको वायु प्रदुषण सोमबार र मंगलबार उपत्यकाको वायु प्रदुषण खतराको तह भन्दा माथि पुगेपछि मन्त्रालयले विज्ञप्ति नै निकालेर सावधानी अपनाउन सबैलाई अनुरोध गरेको हो। वायुको गुणस्तर ४०० एक्युआई भन्दामाथि पुगेको थियो।
पश्चिमी वायुको प्रभावले आइतबारदेखि देशभरको मौसम बदली भएको छ। मौसम बदलीसँगै प्रदुषण पनि ह्वात्तै बढेको हो। प्रदुषणका कारण उपत्यकाको आकाश हुस्सुले ढाकेजस्तै ढाकिएको छ। यसअघि वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले पनि विज्ञप्ति निकालेर विशेष सावधानी अपनाउन सबैलाई अनुरोध गरेको थियो।


























