काठमाडौं, पुस १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका छन्। आफू पक्षका काठमाडौं जिल्लाका कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने दाबी गरेका हुन्।
प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको भन्दै ओलीले पुनर्स्थापना हुनै नसक्ने तर्क गरे। उनले धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटनको सिफारिस गरेको बताए। उनले बेलायत र इजरायलको उदाहरण दिँदै आफूले गरेको संसद विघटन सही रहेको र स्वाभाविक भन्दै पुनर्स्थापना नहुने बताए। उनले कार्यकर्ता संरक्षण गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको हल्ला फैलाएको आरोप समेत लगाए।
‘प्रतिनिधिसभा पुनर्स्थापना हुने कुरा कहाँबाट आयो ? कसले भन्यो पुनर्स्थापना हुन्छ भनेर ? पुनर्स्थापना हुँदैन। उहाँहरूले कार्यकर्ता झुक्याउन भन्नुभएको होला,’ प्रधानमन्त्रीको भनाइ थियो।
अध्यक्ष दाहालले पार्टीको काम नगरेर गुट सञ्चालन गरेर काम गर्न नदिएको आरोप समेत लगाए। पार्टी एकताको काम तीन महिनामा सक्नुपर्ने थियो। तर, उहाँहरूले न पार्टीको काम गर्नुभयो न त सरकारलाई काम गर्न नै दिनुभयो।’ उनले भने। प्रतिनिधिसभा विघटन गर्नुका पछाडि आफूविरुद्ध पार्टीभित्रैबाट आएको अविश्वासको प्रस्ताव लगायतका कुरा रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो।


























