काठमाडौं, पुस ९ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्य रामबहादुर थापा बादललाई आफ्नो पक्षमा ल्याउन नसकिएको स्वीकार गरेका छन्। बिहीबारको केन्द्रीय कमिटी बैठकमा उनले आजको बैठकमा आउने अपेक्षा गरे पनि ल्याउन नसकिएको बैठकमा जानकारी गराएका हुन्।
‘बामदेव गौतम र बादल कमरेडलाई आउन आग्रह गरेको थिएँ, आउनु भएन। बामदेव कमरेड सकारात्मक हुनुहुन्छ तर बाललाई लिएर आउन सकिएन तर उताको बैठकमा सहभागी २३ जना फर्किइसक्नु भएको छ’ प्रचण्डले बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भएको बैठकमा जानकारी गराए। उनले बादलसँग निकट रहेका कुलप्रसाद केसी र सुर्य सुवेदी पथिक आफूहरुको बैठकमा सहभागी भएको पनि बताए।
सरकारले संसद विघटन गरेपछि दुई कित्तामा विभाजित नेकपाको कुन कित्तामा लाग्ने भन्नेमा बादल केही दिनसम्म अनिर्णित बसेका थिए। तर उनी बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली समूहको भेलामा सहभागी भएका छन्।


























