काठमाडौं, पुस ९ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध तत्काल आन्दोलनमा जान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउबामाथि दबाब बढाएको छ। पैडेल पक्षले केन्द्रीय समिति बैठकअघि अनामनगरमा छुट्टै भेला गर्दै सभापति देउवाविरूद्ध दबाब सृजना गर्ने रणनीति बनाएको हो।
बैठकमा पौडेलसहित महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, गगन थापा, प्रदिप पौडेलसहितका नेताहरूको सहभागिता रहेको जनाइएको छ।अनामनगरको सो भेलाले आन्दोलनको मोडालिटीसमेत छुट्टै प्रस्तावकोरूपमा पेस गर्ने तय गरेको एक सदस्यले जानकारी दिए।
प्रधानमन्त्री ओलीको कदमविरूद्ध तत्कालै सडक संघर्षमा जाने वा अदालतको निर्णयका आधारमा अघि बढ्नेमा कांग्रेसभित्र विवाद छ। सभापति शेरबहादुर देउवा पक्षधरहरू भने न्यायालयबाट हुने निर्णयका आधारमा अघि बढ्नु पर्ने पक्षमा छन्।


























