चितवन पुस ९ । सौराहामा आन्तरिक पर्यटकको उपस्थिति बाक्लो बनाउन क्षेत्रीय होटल संघ सौराहाले नयाँ अभ्यास थालेको छ। ‘घुमौ सौराहा’ कार्यक्रममार्फत सहज र सुरक्षित तरिकाले सौराहा घुम्न सक्ने भन्दै नयाँ कार्यक्रम ल्याएर देशव्यापी बनाउने अभियान थालेको क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ। कोरोना भाइरस संक्रमणको जोखिमसँगै बाह्य पर्यटक आउन बन्दप्रायः अवस्थामा रहेको सौराहालाई आन्तरिक पर्यटकमार्फत पर्यटन प्रवर्द्वन गर्ने उद्देश्यले नयाँ अभ्यासको थालनी गरिएको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।
‘सौराहाको पर्यटन व्यवसाय सञ्चालन गर्दै गर्दा आन्तरिक पर्यटनको लागि पर्यटन प्रवर्द्वन गर्न लागेको यो नै पहिलो र्काक्रम हो,’ क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले भने, ‘यसअघि यस्ता कार्यक्रम भए पनि हामीले बाह्य पर्यटक तान्ने योजनाका साथ गरेका थियौँ। तर आन्तरिक हिसाबले कार्यक्रम गरेको यो नै पहिलो पटक हो।’ सौराहा सुरक्षित छ, हराभरा छ भनेर बुझाउनको लागि पनि सौराहाले नयाँ खालको अभ्यास शुरु गरेको उनले बताए। यसलाई अभियानकै रुपमा देशव्यापी बनाउने योजना रहे पनि हाललाई अंग्रेजी नयाँ वर्ष र क्रिसमस दिवस नजिकै आइसकेको हुँदा तत्काललाई विराटनगर, जनकपुर र वीरगञ्जमा कार्यक्रम गर्न लागेको अध्यक्ष भट्टराईले जानकारी दिए।
४० प्रतिशतसम्म छूट
क्षेत्रीय होटल संघले यसपटक सौराहा घुम्न आउने पर्यटकको लागि होटलको अवस्था हेरी २० देनि ४० प्रतिशतसम्म अनिवार्य छूटको व्यवस्था गरेको जनाएको छ। विगतका दिनहरुमा पनि छूटको विषयमा कार्यक्रम गरे पनि पूर्णरुपमा कार्यान्वयन गर्न नसकेको सौराहाले यसपटक भने पूर्णरुपमा कार्यान्वयन गर्ने दाबी गरेको छ। ‘अहिले सबै होटलले होटलको अवस्था हेरेर छूट प्याकेजसहितको सुविधा दिएका छौँ। होटलको स्तर हेरेर २० देखि ४० प्रतिशतसम्म छूट दिने अभियान चलाएका छौँ,’ संघका अध्यक्ष भट्टराईले भने। यसवर्ष आन्तरिक पर्यटककै भरमा रहेकोले आन्तरिक पर्यटक लक्षित कार्यक्रम गर्दै आएको उनको भनाइ छ। संघले चलाएको अभियानलाई स्थानीय तहसहित जिल्लाका सरोकारवाला निकायहरुले पनि साथ दिएको उनले बताए। खाली घुम्न र रमाइलो गर्न मात्र नभई सभा, सेमिनार तथा विवाहजस्ता ठूला काार्यक्रम गर्नको लागि पनि सौराहा सुरक्षित छ भन्ने देखाउनको लागि पनि कार्यक्रमले सार्थकता पाउने उनले बताए।
रोकियो हात्ती महोत्सव
विगत लामो समयदेखि हरेक वर्ष हुँदै आएको हात्ती महोत्सव यसपटक स्थगित गरिएको छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण महोत्सवको १७औँ संस्करण स्थगित गर्न बाध्य भएको संघले जनाएको छ। यसवर्ष रोकिए पनि आगामी वर्षदेखि महोत्सवले पुनः निरन्तरता पाउने संघले जनाएको छ।
सौराहामा पर्यटक: ३५ प्रतिशत
कोरोना भाइरसको जोखिमले थलिएको पर्यटकीय नगरी सौराहामा यतिबेला आन्तरिक पर्यटकको आगमन बढ्दै गएको संघले जनाएको छ। केहीसमय अघिसम्म शून्य अवस्थामा रहेको सौराहामा यतिबेला ३० देखि ३५ प्रतिशतसम्म आन्तरिक पर्यटक आउने गरेका क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए। ‘बस्ने गरी आउनेको संख्या दैनिक १० देखि १५ प्रतिशत छन्,’ उनले भने, ‘दिउँसो घुम्न आउनेको संख्या भने ३० देखि ३५ प्रतिशतसम्म पुगेको छ।’ पर्यटकको आगमनलाई बढाउन सौराहाका पर्यटन व्यवसायीले विभिन्न खालका प्रयास गरिरहेका उनको भनाइ छ। सोही आधारमा समयसापेक्ष र अति आवश्यक महसुस गरी घुमौ सौराहा अभियानलाई देशव्यापी बनाउन खोजिएको उनले बताए।
स्थानीय सरकारको साथ
रत्ननगर नगरपालिकाले पनि सौराहाको पर्यटन प्रवर्द्वनमा हरेक समय साथ दिँदै आएको जनाएको छ। होटल व्यवसायीहरुले पर्यटन प्रवद्र्धनका लागि घुमौँ सौराहा कार्यक्रम आयोजना गरेर राम्रो काम गरेको मेयर नारायण वनले बताए। ‘यो अभियानमा स्थानीय सरकारको सधैँ साथ रहनेछ,’ उनले भने, ‘यसले पर्यटन व्यवसायसँग सम्वद्ध व्यवसायीलाई थोरै भए पनि उकास्ने काम गर्छ भन्ने विश्वास लिएको छु।’ उनले सौराहा हरेक दृष्टिकोणबाट सुरक्षित रहेकोले देशभरबाट सहज रुपमा घुम्न आउन आग्रहसमेत गरे।


























