काठमाडौं, पुस ९ । सत्तारूढ दल नेकपाका प्रचण्ड-माधव पक्षले आज (बिहीबार) पार्टीको महासचिव चयन गर्ने तयारी गरेका छन्। साविक महासचिव विष्णु पौडेल ओली समूहतर्फ रहेकाले प्रचण्ड-माधव पक्षले अर्का महासचिव चयन गर्न लागेका हुन्।
आज बिहान साढे ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले महासचिव चयन गर्ने नेकपाका एक नेताले जानकारी दिए। उनका अनुसार नेकपाको विधानमा पार्टीको बैठक महासचिवले बोलाउनुपर्ने प्रावधान छ। आजको केन्द्रीय कमिटी बैठक यसअघि मंगलबार बसेकै बैठकको निरन्तरता भएको र मंगलबारको बैठक पुस १ गते अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एवं महासचवि विष्णु पौडेलसमेत उपस्थित स्थायी कमिटी बैठकले गरेको निर्णयबमोजम बसेको हो।
‘अब अर्को नयाँ बैठक बोलाउन भने महासचिवको आवश्यकता पर्छ,’ ती नेताले भने, ‘तसर्थ आजको केन्द्रीय कमिटी बैठकले महासचिव चयन गर्छ।’
महासचिव चयन नगर्ने हो भने पार्टीको विधान नै संशोधन गर्नुपर्ने हुन्छ।


























