काठमाडौँ, पुस ७ । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको समूहको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपाको अध्यक्ष बनाउने निर्णय गरेको छ। बैठकले नेकपा अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए। नेता पुनका अनुसार दुवै अध्यक्षको हैसियत समान रहने छ। प्रचण्डले यसअघि कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्दै आएका थिए।
राष्ट्र हितविपरीत तथा पार्टी हितविपरीत काम गरेको, अध्यादेश, संसद विघटन, पार्टी निर्णय पटक(पटक उलंघन गरेको लगायतका आरोप लगाउँदै ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो। अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही स्वरुप अध्यक्ष पदबाट हटाइएको बताए।
यसअघि आजै भएको ओली पक्षको केन्द्रीय कमिटी बैठकले प्रचण्ड लगायत सबैलाई यथावत राखेर कमिटी बिस्तार गर्ने निर्णय गरेको थियो। उक्त बैठकले नारायणकाजी श्रेष्ठलाई हटाएर प्रवक्ताको जिम्मेवारी भने प्रदीप ज्ञवालीलाई दिएको थियो।


























