चितवन ५ मंसिर । साहित्यकार प्रेमविनोद नन्दन गीतकार संघ नेपालकाे ‘राष्ट्रिय स्रष्टा सम्मान’ बाट पुरस्कृत भएका छन्। संस्थाको आठौँ स्रष्टा सम्मान तथा दसौँ वार्षिकोत्सवको अवसरमा नारायणगढमा शनिबार वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नन्दनलाई नगद एक लाख ५१ हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरेका हुन्।
नेपाली गीतसंगीतमा लामो समयदेखि पुर्याएको योगदानस्वरुप नन्दनलाई पुरस्कृत गरिएको संघले जनाएको छ। पुरस्कारले बुढेसकालमा पनि गीतसंगीत क्षेत्रमा अझै केही गरौँ भन्ने भाव जगाएको नन्दनले बताए। ‘भलै आज एकजना स्रष्टाले पुरस्कार पाएको होस् तर गीतसंगीतको माध्यमबाटै पाएकोले समग्र नेपाली गीतसंगीत क्षेत्र नै पुरस्कृत भएको रुपमा बुझेको छु,’ नन्दनले भने।
२०११ मा ‘झटारो’ नामक गीतसंग्रह प्रकाशन गरेका नन्दनका त्यसपछि ७ वटा गीत, कविता र गजलसम्बन्धी पुस्तक प्रकाशित छन्। उनको आठौं पुस्तक ‘पत्रम् पुष्पम्’ (कवितासङ्ग्रह) शनिबार कार्यक्रमकै बीच लोकार्पण गरिएको थियो। लमजुङमा जन्मिएर तनहुँको बन्दिपुरमा हुर्किएका नन्दन पाँच दशकभन्दा बढी समयदेखि चितवन बस्दै आएका छन्। मोफसलबाटै नेपाली पार्श्व गायनमा गीतकारको रुपमा उनले बलियो उपस्थिति देखाएका छन्। नन्दनद्वारा लिखित चलचित्र ‘मोहनी’ मा समेटिएको ‘यो गाउँको ठिटो म’ गीत निकै लोकप्रीय मानिन्छ।
संघले शनिबार नै वर्षगीत सम्मानबाट ‘थाहा छैन जिन्दगी’ गीतको लागि सर्जक महेश आचार्यलाई नगद ५७ हजार रुपैयाँ र डायस्पोरा सम्मानबाट अर्जुनरत्न भिखारीलाई नगद १५ हजार रुपैयाँले पुरस्कृत गरेकाे छ। संस्थाले स्थापनाको एक दशक पार गरेकाले यसपटक सबै पुरस्कारको राशि बढाएको जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मुख्यमन्त्री पौडेलले नेताको भाषणमा नभएको शक्ति गीतकारको कलममा हुने बताए। ‘त्यसैले राष्ट्र निर्माणमा गीतसंगीतको भूमिका महत्त्वपूर्ण छ,’ उनले भने। कार्यक्रमको संयोजन नारायणी कला मन्दिरले गरेको थियो।
यसैबीच, गीतकार संघले स्थापना गरेको अक्षयकोषको लागि संगीतकार सुनिल मास्केले एक लाख ५१ हजार १११ रुपैयाँ सहयोग गरेका छन्। अक्षयकोषमा यसअघि नै अमर वान्तुले १५ लाख र वसन्त चौधरीले ११ लाख रुपैयाँ सहयोग गरेका थिए। हालसम्म कोषमा ब्याज रकमसहित करिब ३० लाख रुपैयाँ नगद संकलन भएको संघका अध्यक्ष चुडामणि देवकोटाले जानकारी दिए। कोषको रकम एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको उनले बताए।

























