काठमाडौँ, पुस १ । नेकपामा एक नम्बर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल भदौ २६ को समझदारीअनुसार अघि बढ्न सहमत भएका छन्।
स्थायी कमिटी बैठकअघि बुधबार दोस्रो पटक महासचिव विष्णु पौडेलसहित भएको छलफलमा ओली-दाहाल भदौ २६ को समझदारीअनुसार अघि बढ्न सहमत भएको दाबी गरिएको छ। प्रचण्ड निकट नेताहरूले भने यसबारे जानकारी भइनसकेको बताएका छन्।
मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि चरमोत्कर्षमा पुगेको नेकपाको विवाद र पार्टी एकता कायम राख्न दुई अध्यक्ष भदौ २६ को समझदारीमा फर्किएको दाबी गरिएको छ। अब भदौ २६ यता भएका सबैप्रकार विवाद र दस्तावेजकै रूपमा आएका आरोपप्रत्यारोप खारेज गर्दै अघि बढ्न ओली-दाहालले समझदारी गरेका छन्।
भदौ २६ को स्थायी कमिटी बैठकले सरकार र पार्टी सञ्चालन दुई अध्यक्षको सल्लाहका आधारमा हुने तथा महत्वपूर्ण संवैधानिक तथा राजनीतिक नियुक्ति पनि सहमतिको आधारमा गर्ने निर्णय गरेको थियो।
पछिल्लो सहमतिसँगै सरकारले यसबीचमा गरेका नियुक्ति पनि खारेज हुन सक्ने बताइएको छ। अबको बैठकमा दुई अध्यक्षले सहमतिमा एजेण्डा तय गर्ने तथा संयुक्त प्रस्तावलाई अघि बढाउने पनि ओली निकट स्रोतको दाबी छ।


























