काठमाडौं, पुस १ । सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) भित्रको विवाद थप चुलिएको छ। स्थायी कमिटी जारी रहेका बेला पार्टीभित्र छलफल नै नगरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि दलभित्रैबाट सरकारको आलोचना हुन थालेको छ। यसैबीच आज नेकपाको स्थायी कमिटी बैठक बस्दैछ। यसअघि आइतबार शोक प्रस्ताव पारित गरी आजसम्मका बैठक लागि स्थगित गरिएको थियो।
आजको बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशकै विषयमा छलफल हुने नेताहरुले बताएका छन्। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै परामर्शविनै अध्यादेश ल्याएको भन्दै असन्तुष्ट बनेका नेताहरुले आजको बैठक अध्यादेशकै विषयमा केन्द्रित हुने बताएका छन्।
प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट बनेका छन्। ओलीले पार्टीमा परामर्श नै नगरी ल्याएको अध्यादेश फिर्ता गर्नुपर्ने उनीहरुको माग छ।
अध्यादेश जारी भएलगत्तै असन्तुष्ट स्थायी कमिटीका बहुमत सदस्य हिजो खुमलटारमा छलफल गरेका थिए। उनीहरुले आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिने निष्कर्ष निकालेका छन्। पार्टीभित्र देखिएको अन्तरविरोध र यसले निम्त्याएको समस्या समाधानमा केन्द्रित हुने बेला प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झन् चर्किएको छ।
सत्तारुढसँगै विपक्षी दल र अरु क्षेत्रबाट पनि अध्यादेशको चौतर्फी विरोध भएको छ। नयाँ अध्यादेश अनुसार संवैधानिक परिषदको बैठक हिजो बेलुका बसेको थियो। बैठकले कुनै निर्णय भने गरेन। नयाँ अध्यादेश अनुसार अब अध्यक्षसहित परिषदका बहुमत सदस्यको उपस्थितीमै बैठक बस्न सक्नेछ भने निर्णय गर्न पनि सक्नेछ। यसअघि पाँच जना सदस्य उपस्थित भएमा मात्रै बैठक सुरु गर्न सकिने व्यवस्था थियो।
यसअघि पनि प्रधानमन्त्रीले पार्टीमा पराशर्म नै नगरी राजनीतिक दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी ल्याएको अध्यादेश पार्टीभित्रैबाट विरोध भएपछि फिर्ता भएको थियो।


























