चितवन, मंसिर २७ । गौतम बुद्ध कप क्रिकेटअन्तर्गत पहिलो खेलमा टिम नारायणीले जित हात पारेको छ। शनिबार भएको पहिलो खेलमा नारायणीले वाग्मतीलाई सुपर ओभरमा पराजित गरेको हो।
चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा वाग्मतीले जितका लागि दिएको ११८ रनको लक्ष्य नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११७ रन बनाउन सफल भएको थियो। नारायणीका लागि आरिफ शेखले सर्वाधिक ४४ रन बनाएका थिए। त्यस्तै शिद्धान्त लोहनीले २० रन बनाउँदा इशान पान्डे १३ तथा कप्तान सुवास खकुरेलले ११ रन बनाउन सफल भए।
बलिङतर्फ वाग्मतीका लागि सोमपाल कामीले दुई विकेट लिए। त्यस्तै सागर ढकाल, पवन सर्राफ, विक्रम सोब, ललित राजवंशी र राशिद खानले समान एक–एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वाग्मतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो। वाग्मतीका लागि सुनिल धमला र विक्रम सोबले सर्वाधिक ३७–३७ रनको योगदान गरे। त्यस्तै, रासिद खानले २७ रन बनाउँदा अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ नारायणीका शाहव आलमले सार्वाधिक तीन विकेट लिए। त्यस्तै, दिपेश श्रेष्ठले दुई विकेट लिए। नारायणीका लागि करण केसी, किसोर महत्व र सुशन भारीले समान एक–एक विकेट लिए।


























