चितवन, मंसिर १४ । चितवनमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान पहिलो सेमेस्टरका अधिकांश विद्यार्थी फेल भएपछि आन्दोलित बनेका छन्। यही मङ्सिर ९ गते प्रकाशन भएको परीक्षाफलमा झन्डै ८० प्रतिशत हाराहारी विद्यार्थी फेल भएपछि उनीहरुले परीक्षाको छानबिन हुनुपर्ने र पुनः उत्तरपुस्तिका परीक्षणको माग गरेका छन्। उनीहरुले विश्वविद्यालयमा उत्तरपुस्तिका परीक्षण गर्न हालसम्म पनि मापदण्ड नबनाएको भन्दै अन्य विश्वविद्यालयको जस्तै कार्यविधि बनाउन माग गरेका छन्।
परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरुले परीक्षा नियन्त्रक नारायण जोशीलाई भेटेर परीक्षामा पास हुनेगरी उत्तर लेखेका विद्यार्थी किन फेल भए भनेर प्रश्न गर्दा उत्तर पुस्तिका परीक्षण गर्ने कार्यविधि नभएको र शिक्षकहरुको लापरबाहीका कारण धेरै फेल भएको पीडित विद्यार्थीहरुले बताए।
निमित्त डीन कल्याणी मिश्रले शिक्षकहरु र परीक्षा नियन्त्रकको गल्तीका कारण धेरै विद्यार्थी फेल भएको बताएको विद्यार्थीहरुले बताए।
विद्यार्थी भर्नाका बेला प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नै फेल हुने, प्रयोगात्मक परीक्षामा सहभागी विद्यार्थी नै नतिजामा एब्सेन्ट देखिने लापरबाही भएको भन्दै विद्यार्थीहरुले आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
यस्तै, एक वर्षभित्रमा परीक्षाफल प्रकाशन हुनुपर्नेमा कृषि सङ्कायअन्तर्गत पहिलो सेमेस्टरको परीक्षा डेढ वर्ष लगाएर प्रकाशन भएको थियो। प्रकाशित नतिजालाई लिएर नेकपा निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएको भन्दै परीक्षाको छानबिन गर्न माग गरेको छ।
विश्वविद्यालयअन्तर्गत विभिन्न विषयको ५० पूर्णाङ्कको सैद्धान्तिक र २५ पूर्णाङ्कको प्रयोगात्मक अङ्कभार छ। ५० पूर्णाङ्कमध्ये १० नम्बरको आन्तरिक परीक्षा हुने गरेको छ । बाँकी ४० पूर्णाङ्कको वार्षिक परीक्षा लिने गरिएको छ। १० नम्बरको आन्तरिक परीक्षा भने वार्षिक परीक्षाभन्दा अगाडि नै हुने गरेको छ। यो नम्बर पहिले नै परीक्षा नियन्त्रण कार्यालयमा पठाइन्छ। आन्तरिक परीक्षामा पास भएका विद्यार्थीलाई मात्र वार्षिक परीक्षा दिन पाउने व्यवस्था छ।
आन्तरिक परीक्षामा १० पूर्णाङ्कमा शिक्षकले आफूखुसी ४, ५, नम्बर पठाएर वार्षिक परीक्षाको नतिजामा जोडिएर आएको अनेरास्ववियुका केन्द्रीय क्याम्पस कमिटीका कार्यबाहक अध्यक्ष कृतिम श्रेष्ठले बताए। उनले क्षमतावान र प्रवेश परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी पनि फेल भएको उनले बताए।
श्रेष्ठले भने– ‘सबै मिलाएर आएका विद्यार्थीको पनि १० पूर्णाङ्कमा ४ नम्बर दिएर पठाएको छ। वार्षिक परीक्षामा पनि जसले लगभग सबै प्रश्नको उत्तर मिलाएर लेखेको छ। उसलाई पनि फेल गराइएको छ। हामी उदाहरणका रूपमा लिन सक्छौँ, प्रवेश परीक्षाको टपर कपिल सिम्खडाको २ वटा विषयमा ३ नम्बर मात्र आएको छ। विद्यार्थी के भन्छन् भने, मेरो कापी पुनः परीक्षण होस, फेरि त्यति नै नम्बर आउँछ भने विश्वविद्यालय नै छोडिदिन्छु भन्छन्। उता बर्दिवासमा रहेको आङ्गिक क्याम्पसमा ५० जनामा ४ जना मात्र पास भएका छन्। उता टीकापुरमा पनि २३ जना फेल निकालेको छ। विश्वविद्यालयका शिक्षकले बिना मापदण्ड आफूखसी उत्तरपुस्तिका जाँच गर्दा समस्या सिर्जना भएको छ।’
परीक्षाको पुनरमूल्याङ्कन गर्नुपर्ने, दोषीमाथि कारबाही गर्नुपर्ने माग अघि सारेको उनले बताए।
विद्यार्थी सङ्गठनले विश्वविद्यालयको स्थापनको दिनबाटै देखिँदै आएको शैक्षिक तथा प्रशासनिक बेथिति, ढिलासुस्ती, लापरबाही र गैरजिम्मेवारपनाको निरन्तरता स्वरूप पछिल्लो परीक्षाफल प्रकाशित भएको उल्लेख गरेको छ।
विद्यार्थी सङ्गठनले निकालेको विज्ञप्तिमा भनिएको छ– ‘विगतदेखि नै विश्वविद्यालयको शैक्षिक नतिजाको विश्वसनीयता, वैज्ञानिकता र निस्पक्षतामाथि प्रश्न उठ्ने गरेको कसैबाट लुकेको छैन। आन्तरिक र प्रयोगात्मक परीक्षामा अवैज्ञानिक र बिना मापदण्ड गरिने अङ्क वितरणबाट आजित भएका र ती परीक्षाहरुको कार्यविधि तोक्न विभिन्न ब्याचले पटक पटक ध्यानाकर्षण गराएको पनि घामजस्तै छर्लङ्ग छ। यति हुँदाहुँदै पनि विद्यार्थीका प्रश्नको कुनै उत्तर दिन नसक्नु र कार्यविधि आउन नसक्नुले विश्वविद्यालयको गैरजिम्मेवारीलाई थप प्रमाणित गर्दछ।’
विज्ञप्तिमा भनिएको छ– ‘प्रयोगात्मक परीक्षामा अङ्कको अनुपात हेर्ने हो भने विश्वविद्यालयको मूल्याङ्कन प्रणालीमा त्रुटि भएको प्रष्ट रूपमा देख्न सकिन्छ। आन्तरिक मूल्याङ्कनमा ८० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यार्थीहरु सैद्धान्तिक रूपमा कसरी अनुत्तीर्ण हुनसक्छन् ? कि त विश्वविद्यालयले सम्पूर्ण प्रयासले उच्च गुणस्तरीय शिक्षा र वैज्ञानिक मूल्याङ्कन प्रदान गर्दागर्दै स्वयं विद्यार्थीहरुको कमजोरीका कारण उनीहरु असफल भएका हुन भन्न सक्नुपर्यो कि त विद्यार्थीले उठाएका प्रश्नको नैतिक जिम्मेवारी लिँदै चित्तबुझ्दो वैज्ञानिक जबाफ दिन सक्नुप¥यो । यदि दुईवटै काम गर्न नसक्ने हो भने आउँदा दिनमा विश्वविद्यालयप्रतिको विश्वास झनै घट्दै जाने प्रष्ट देख्न सकिन्छ।’
अनेरास्ववियुले कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति, परीक्षा नियन्त्रक र डीनको कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै परीक्षाफलको छानबिन गरी आफ्नो धारणा सार्वजनिक गर्न, कोही दोषी पाइए दोषीउपर नियमबमोजिम कारबाही गर्न, पुनरमूल्याङ्कन गर्न र भविष्यमा यस्ता घटना नदोहोर्याउनका लागि परीक्षाको कार्यविधि यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ।
यता, परीक्षामा धेरै विद्यार्थी फेल भएपछि विश्वविद्यालयले छानबिन समिति बनाउन लागेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका भीसी पुण्यप्रसाद रेग्मीले बताए।
उनले भने– ‘यो पटक धेरै विद्यार्थी फेल भएछन्, छानबिन समिति बनाएर केही त्रुटि भएको छ भने त्यसलाई सच्याउने कुरा हुन्छ। आइतबार मैले एउटा छानबिन समिति बनाउँदैछु। यो गम्भीर विषय हो, विश्वविद्यालयमा सुधार गर्नुपर्ने धेरै कुरा छन्। धेरै विद्यार्थी फेल भएका छन्, यसको छानबिन गर्छौं। समितिले सबैभन्दा पहिला कमिकमजोरी केके भएको छ, त्यो पत्ता लगाउँछ। त्यसलाई कसरी सुधार गर्ने त्यसको सुझाव दिन्छ। समितिले तयार पारेको रिपोर्टका अधारमा हामी अगाडि बढ्छौँ।’


























