चितवन, मंसिर २ । पूर्वी चितवनको खैरहनी १० कठारमा रहेका सीमान्कृत मुसहर समुदायलाई खाद्यान्न सहयोग गरिएको छ। मेरो आमा फाउण्डेशन नेपालले बस्तीमा रहेका ३० परिवारलाई खाद्यान्न सहयोग गरेको हो।
तिहार र छट पर्वका लागि फाउण्डेशनले प्रतिघरधुरी चामल १ बोरो, दाल, तेल,साबुन, नुन, केराउ, मस्यौरा, भूजा, आलु र प्याज प्रदान गरेको हो। फाउण्डेशनका सञ्चालक नविन नेपालले बस्तीमै पुगेर सो सामाग्री हस्तान्तरण गरेका हुन्। फाउण्डेशनले सीमान्कृत मुसहर समुदायको जीवन यापनलाई सहज बनाउन विगत डेढ बर्ष देखि विभिन्न सहयोग गर्दै आएको छ। शिक्षा,स्वास्थ्य,लत्ताकपडा र खानेकुरा सहयोग गर्दै आएको फाउण्डेशनले तिहार र छठ पर्वलाई लक्षित गरी पछिल्लो समय सो सहयोग गरेको हो।
सो समुदायका वालवालिकाको शिक्षाको लागि फाउण्डेशनले स्टेशनरी, स्कुल पोसाक, जुता लगायत शिक्षामा लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै आएको सञ्चालक नेपालले बताए। स्वास्थ्य सुरक्षाका लागि फाण्डेशनले बस्तीमै स्वास्थ्य शिविर गर्दै आएको छ। सो बस्तीका ३० परिवारका १७० जना रहेका छन्। जर्मनी नागरिक हर्टमुट डरमष्टेडले फाण्डेशनलाई सहयोग गर्दै आएका छन्। उसले लकडाउनको बेला सो बस्तीका मुसहर समुदायका लागि चार पटक विभिन्न सहयोग गरेका थिए।


























