मनाङ २ मंसिर । साेमबारदेखि देशभर चिसाे बढ्न थालेकाे छ। चिसाेकै कारण हिमाली क्षेत्रमा हिमपातसमेत सुरु भएकाे छ। हिमाली जिल्ला मनाङकाे ङिस्याङ गाउँपालिका क्षेत्रमा साेमबारदेखि नै हिमपात सुरु भएकाे छ। ङिस्याङकाे मनाङ गाउँमा साेमबार बिहान १० बजेदेखि नै हिउँ पर्न थालेकाे स्थानीय छिरिङ लोप्साङ गुरुङले जानकारी दिए।
‘तिलिचो र थोराङ्ला क्षेत्रमा धेरै नै हिउँ परेको छ,’ उनले भने, ‘बस्ती क्षेत्रमा केही मात्रामा जमेको हिउँ केही पग्लिएको छ।’ उनका अनुसार गएका वर्षहरुमा भन्दा यसवर्ष एक महिनाअघि नै हिउँ परेको हाे। जिल्लाकाे नार र फू र आसपासका क्षेत्रमा पनि हिउँ परेर बस्ती ढाकेकाे छ। तल्लो क्षेत्रमा भने कम हिउँ परेको नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामाले जानकारी दिए। उनका अनुसार विगत वर्षहरुमा कात्तिकमै हिउँ परेको थियाे। ‘याे वर्ष त बल्ल मंसिर लाग्दा हिउँ पर्यो,’ उनले भने। हिउँ परेपछि चिसाे बढेका कारण मानिसहरु पनि घरबाहिर निस्कन सकेका छैनन्।
मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीका अनुसार २ हजार ८ सय मिटरभन्दा माथिका सबैजसो ठाउँमा हिमपात भएको छ। ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका केही बस्तीमा करिब २ फिटसम्म हिउँ जमेकाे उनले बताए। चिसो अत्याधिक बढेपछि तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म झरेको उनले बताए। मनाङमा यस वर्ष ३ हजार मिटर उचाइमा कात्तिक १७ गते नै हिउँ परेको थियो।


























